
सुन्दर ग्रुप अफ कम्पनिज प्रालिको वेब पोर्टलबाट विभिन्न डाटा नष्ट गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । कम्प्यूटर तथा लेखासम्बन्धी उपकरणहरूको कारोबार, कम्प्यूटरको थोक व्यापार र अन्य विविध वस्तुहरूको आयात–निर्यात गरिरहेको सुन्दर ग्रुपको डाटा नष्ट गरेको अभियोगमा प्रहरीले गणेश सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रसन्न पोखरेललाई नियन्त्रणमा लिएको हो ।
सुन्दर ग्रुपले गणेश सोलुसन्समार्फत आफ्नो कम्पनीको वेब होस्टिङ गर्दै आएका थिए । उक्त क्रममा पोखरेलले कम्पनीको अनधिकृत रूपमा होस्टिङ एकाउन्टमा प्रवेश गरी, बिना पूर्वसूचना सम्पूर्ण डाटाहरू नष्ट गरी क्षति पु¥याएको भन्दै सुन्दर ग्रुपले प्रहरीमा उजुरी दिएको थियो ।
पक्राउ परेका पोखरेललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ । उक्त घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।