
जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई १० लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय प्रकृति कोषमार्फत उपलब्ध गराइएको १० लाखको चेक मृतकका बुवा कालुराम जोशीलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले हस्तान्तरण गरे ।
गत भदौ १३ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीले घरमै रहेका बेला मीनालाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यसअघि मृतकका परिवारलाई कोषले किरिया खर्चबापत ५० हजार रुपैयाँ रकम उपलब्ध गराएको थियो । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ अनुसार वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भए आश्रित परिवारलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने प्रावधान छ ।