०९ साउन २०८३, शनिबार

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन

रविन्द्र मिश्रलाई प्रकाशमानको व्यंग्यः पार्टी खोल्नु नाङ्लोमा पसल राख्नुजस्तो होइन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई वर्ष पनि दल टिकाउन नसक्नेहरूले देशको विकास गर्ने कुरा सम्भव नरहेको भन्दै साझा विवेकशील पार्टीका नेता रविन्द्र मिश्रलाई व्यंग्य गरेका छन् । शनिवार बानेश्वरमा कुमाले धारा मर्मतसम्भार तथा पार्क सौन्दर्यीकरण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ब्यंग्य गरेका हुन् । 

नेता सिंहले पार्टी खोल्नु नाङ्लोमा पसल खोलेर चलाउनुजस्तो नभएको भन्दै मिश्रप्रति पार्टी टिकाएर देखाउन चुनौती दिए । उनले देश विकासको लागि काम गर्नलाई आफ्नो पार्टी टिकाएर देखाउन सक्नुपर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा नयाँ पार्टीको हावा चाँडै फैलिने गरेको उल्लेख गर्दै विचार गरेर मात्रै भोट हाल्न मतदाताहरूसँग आग्रह गरे ।

२०७४ सालको निर्वाचनमा तत्कालीन विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँग ८१९ मतान्तरले मात्रै सिंह विजयी बनेका थिए । सिंहले आगामी मंसिर १४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पनि हल्लाको पछि लाग्ने नभई विवेकले देश विकास गर्न सक्षम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । उनले देश विकास गर्न पुराना कांग्रेस र कम्युनिष्ट पार्टीहरूलाई पनि गाह्रो परिरहेको बेलामा नयाँ पार्टीहरूले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले परिवर्तन गर्छु भनेर आएको दल अहिले कहाँ छ ? भन्दै प्रश्नसमेत गरे । 

नेता सिंहले स्थानीय र प्रदेश सरकारलाई आफ्ना अधिकार नदिँदा संघीयतामाथि प्रश्न उठेको बताए । उनले जनताको बहुमत पाउँदा समेत कम्युनिष्ट पार्टीहरूले संघीयताका कानून नबनाई दिँदा संघीयतामाथि प्रश्न उठेको आरोप लगाए । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम काँग्रेसले गठबन्धन बनाएर गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा जितेर काँग्रेसले देश विकास गर्ने बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्