
मोरङको सुन्दरहरैँचा नगरपालिकाले पूर्वतयारीका लागि भू–उपयोग योजना तर्जुमाको काम शुरू गरेको छ ।
सरकारले भूउपयोग नीति लागू गरी जमिनको वर्गीकरण गर्ने कार्यक्रमअन्तर्गत कार्यन्वयनको पूर्वतयारीका लागि काम शुरू गरिएको सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालले जानकारी दिए । उनले नगरपालिकाले पिकासो कन्सल्टेन्सी इटहरीका प्राविधिकमार्फत जमिनको वर्गीकरणको काम सहज बनाउन वडास्तरमा अन्तक्र्रिया कार्यक्रम शुरु गरेको जानकारी दिए ।
नगरको वडा नं १० र १२ मा प्रारम्भिक चरणको काम सुरू भएको छ । विद्यमान भू–उपयोग अवस्था, भूमिको उर्वरता, जनसंख्या प्रक्षेपण, जग्गाको मूल्य, जग्गाको खण्डीकरण दरलगायतलाई आधार मानेर काम गरिने परामर्शदाता तारा खतिवडाले अन्तक्र्रियामा जानकारी गराए ।
नगरमा भू–उपयोग परिषद्को काम नगरकार्यपालिकाले नै गरी जमिनको वर्गीकरण गर्ने काम पूरा हुने परामर्शदाता खतिवडाले बताइन् । उनले कृषि क्षेत्रका लागि न्यूनतम दुई कठ्ठा र आवास क्षेत्रका लागि न्यूनतम साढे सात धुर जग्गा हुनु अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीयसँगको सहकार्यमा कृषि, आवास, उद्योग, वन, जलाधारलगायतका क्षेत्रमा जग्गाको वर्गीकरण गरिने बताइन् ।
यसअघि प्रचलित अव्वल, दोयम, सीम र चहार भनी गरिएको वर्गीकरणलाई नयाँ वर्गीकरणले विस्थापन गर्ने उल्लेख गरिएको छ । पहिलो चरणमा तथ्यांक संकलन गरी नक्सांकन गरिने र थप काम अघि बढाइने नगर प्रवक्ता ढकालले बताए ।