
कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा धनगढीस्थित कैलाली जनपुस्तकालयमा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शन गरिएको छ । शुक्रवार भएको प्रदर्शनीको उद्घाटन सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडालले गरेकी थिइन् ।
त्यसक्रममा उपसभामुख बडालले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सकारात्मक सन्देश दिएको बताइन् । उनले भनिन्, ‘कार्टुनमा हाम्रो समाजमा मौलाएको खराब मनोवृत्ति र आचरणलाई कलात्मक रुपमा प्रस्तुत गरिएको हुन्छ । समाजलाई गतिशील, सभ्य र समृद्ध बनाउन राजनीतिक दल र नेतृत्व सदाचारमा प्रतिबद्ध हुन जरुरी छ ।’
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले भ्रष्टाचार सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि राजनीतिक दल, सञ्चारमाध्यम, नागरिक समाज, साहित्यकार, कलाकार एवं जनताले खबरदारी गरिरहनु पर्ने बताए । उनले कार्टुनले नेपालको वर्तमान अवस्थालाई कलात्मक रुपमा चित्रण गर्न सफल भएको बताए ।
साहित्यकार एवं प्रलेस सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष तारामणि न्यौपानेले समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न प्रदर्शनी सकारात्मक सन्देश प्रवाह गरेको सुनाउँदै उनले सबै स्रष्टा तथा नागरिकले खबरदारी गरिरहनु पर्ने धारणा व्यक्त गरे ।
प्रदर्शनीमा नेपालका ३६ जना कार्टुनिस्टले तयार पारेका भ्रष्टाचारविरुद्ध सन्देश दिने ५० वटा कार्टुन राखिएको क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिए । उनले समाजमा व्याप्त विकृति–विसंगतिविरुद्ध रङ, रेखा र शब्दमार्फत अभियानको थालनी गर्दै भ्रष्टाचारविरुद्ध र सदाचारको पक्षमा सन्देश प्रवाह गर्न कार्टुनिस्टले ‘निसाना’ साँधेको बताए ।
बैशाख ४ गते काठमाडौंबाट शुरु भएको प्रदर्शनीको अन्तिम प्रदर्शनी शुक्रवार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पुगेर समापन गरिएको थियो ।
अध्यक्ष क्षितिजले यो प्रदर्शनी केवल प्रदर्शनी मात्र नभई भ्रष्टाचारविरुद्धको सिर्जनात्मक अभियान भएको जिकिर गरे । प्रदर्शनी अवलोकन गर्न धनगढीका विभिन्न विद्यालयका विद्यार्थीलगायत नागरिक समाज, राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरूसमेत पुगेका थिए ।
क्लबले यसअघि बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुर, लुम्बिनीको बुटवल र कर्णालीको सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शनी गरिसकेको क्लबका अध्यक्ष क्षितिजले जानकारी दिए ।
प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेशकुमार खपांगी, केशवराज खनालको कार्टुन समावेश छ ।
त्यस्तै, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापा, सागर शाह, सुदर्शन सिग्देल, उमेशचन्द्र अधिकारी, अनुप गुरुङ, सानुराज डंगोल, अकृन अधिकारी, विरोचन मल्ल, आशिष खनाल, विष्णु अथकमनु, विश्व थापा, देव कोइमी, वामन चालिसे, महेश बस्ताकोटी, पानसिंह तमोर, रामहरि रिमाललगायतका कार्टुनिस्टका कार्टुन राखिएको छन् ।