
गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेताहरूले सत्तारुढ गठबन्धनविरुद्ध भाषण गर्दै नहिँड्न चेतावनी दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसविरुद्ध भाषणबाजी गर्दै नहिँड्न चेतावनी दिएका हुन् ।
नेपाल तरुण दल, काभ्रेले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनमा आबद्ध भएको हुनाले कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गठबन्धनले उठाएको उम्मेदवारहरूको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको स्पष्ट पारे । उनले आफू कांग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिबद्ध रहेको बताए ।
‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ । तर, गठबन्धन तोडेर हेरौँ भनेर भन्नुहुन्छ भने नेपाली कांग्रेसको केन्द्रीय समितिले अहिले गठबन्धन तोड्दैन । कांग्रेसका केन्द्रीय सदस्य साथीहरूले यसरी पार्टीका तरुण साथीहरूलाई बोलाउने र गलत भ्रम हुने गरी भाषण गर्नु हुँदैन’, मन्त्री खाणले भने, ‘तपाईंहरूले जे हो ? त्यही भनिदिनु पर्दछ । अहिले नेपाली कांग्रेसको भूमिका के हो ? नेपाली कांग्रेसको एउटा केन्द्रीय सदस्य, गठबन्धन सरकारको गृहमन्त्री भएको नाताले यो गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्ने, यो निर्वाचनलाई शान्ति, सुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आबद्ध छौँ । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता हो । राजनीतिक धर्म र दायित्व हो ।’