
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनको शनिबार बसेको बैठक पनि निष्कर्षविहीन बनेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँट गर्ने प्रयास स्वरुप गठबन्धनमा निरन्तर छलफल हुँदै आएको छ । कार्यदलको प्रतिवेदन समेतको आधारमा छलफललाई तिव्रता दिइएको भएपनि सहमति भने जुट्न नसकेको हो ।
बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले छलफल जारी रहेको र सहमतिको नजिक पुगिएको दाबी गरे ।
००००
दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् ।
००००
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा शनिबार आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामुहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन् । नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा र्डोयाउनुपर्नेमा जोड दिए ।
००००
शनिवार दिउँसो १ बजेका लागि निर्धारण भएको प्रतिनिधिसभा बैठक बुधवारसम्म सरेको छ ।
संघीय संसदको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले शनिवार बिहान सूचना टाँस गर्दै बैठक भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी सरेको जनाएका छन् ।
००००
देशभर थप १ सय ६३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ७४६ नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११२ तथा एन्टिजेन विधिबाट ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० पुगेको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गठबन्धनमा रहेका दलहरू हार्ने डरले राजनीतिक सिन्डिकेट खडा गरेर निर्वाचनमा जान लागेको बताएका छन् ।
शनिवार राप्रपा नेपालले आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारीहरुले बजारमा सिन्डिकेट खडा गरेर आफ्नो भाउ बढाएजस्तै प्रमुख राजनितिक दलहरूले एक्ला–एक्लै निर्वाचनमा लड्दा हार्ने डरले सिन्डिकेट खडा गरेर निर्वाचनमा जान लागेको बताएका हुन् ।
००००
राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
यसैगरी साविक विजेता भारत माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
००००
नेकपा एकीकृत समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर नागरिक अस्पताल पछाडि रहेको घरमा हतियारधारी समूहले प्रवेश गरी तोडफोड गर्नुका साथै अपहरणको प्रयास गरेका छन् । शनिबार बिहान करिब ३ बजे हतियारधारी समूहले समाजवादीका अध्यक्ष बस्नेतको घरमा चार–पाँच जना व्यक्ति प्रवेश गरी ढोका तोडफोड गरेको, एक थान मोवाइल र जुत्ता लगेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् ।
मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको शनिवार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए ।