०६ साउन २०८३, बुधबार

रैथाने बालीको संरक्षण गरिँदै

रैथाने बालीको संरक्षण गरिँदै
फाइल तस्वीर

कालीकोट जिल्लामा लोपोन्मुख रहेको रैथाने बाली संरक्षण गर्न किसान लागेका छन् । यस्ता बालीको माग बढ्न थालेपछि उनीहरु संरक्षणमा जुटेका हुन् । 

जिल्लामा पाइने रैथाने बाली चिनु, कागुनु, फापर, कोदो, जौँलगायतका बाली अहिले लोपोन्मुख अवस्थामा छ । 

पछिल्लो समय यसको माग बढेपछि संरक्षण अभियानमा किसान जुटेका छन् । झण्डै दुई दशक पहिले जिल्लामा उल्लेख्यरूपमा ती बालीउत्पादन हुने गर्दथ्यो ।

यस वर्ष एक रोपनी जग्गामा चिनुखेती गरेको खाँडाचक्र नगरपालिका– ११ स्थानीय जीवन गिरीले जानकारी दिए । 

'चिनुको माग काठमाडौँका व्यापारीबाट आएपछि गाउँमा खेतीको सुरुआत गरेका हुँ ।' उनले भने, 'जिल्लाको सुन्तलागाउँ भनेर चिनिने गरेको छ, परापूर्वकालमा गाउँमा चिनु, कागुनुको व्यापकरूपमा खेती हुन्थ्यो । अहिले पुनः खेती शुरू गरेको छु ।'

परीक्षणका रूपमा यो वर्ष एक रोपनी जग्गामा सुरु गरिएको चिनुखेती निकै राम्रो फलेको उनको भनाइ छ । जिल्लामा स्थानीय सरकारले पनि रैथाने बाली संरक्षणका लागि पहल थालेका छन् । 

लोपोन्मुख रैथाने बाली संरक्षणका लागि नगरले आफ्ना नीति तथा कार्यक्रममै समेटेको तिलागुफा नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले बताए । 'हामी किसानलाई रैथाने बाली उत्पादन गर्नका लागि अनुदान दिन्छौँ । उत्पादित बालीको बजारको सुनिश्चितता गर्छौँ,' उनले भने,'नगरभित्र उत्पादित रैथाने बाली नगरले नै खरिद गरी बजारीकरण गर्ने योजना छ ।' 

रैथानी बाली संरक्षणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम शुरू गरेको पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले जानकारी दिए ।

‘पलाँता क्षेत्र कोदो, चिनु, कागुनु, फापर, सिमी र आलु उत्पादनको राम्रो सम्भावना भएको क्षेत्र हो', उनले भने,'यहाँको उत्पादित रैथाने बाली विगतमा आफैँलाई मात्र प्रयोग गरिन्थ्यो । अब किसानलाई धेरै मात्रामा उत्पादन गरेर जिल्ला बाहिर निर्यात गराउने योजना छ ।' रासस
 

salt training

कमेन्ट गर्नुहोस्