
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन गर्दा कांग्रेसले जित्ने निर्वाचन क्षेत्र अर्को पार्टीलाई नछाड्न खबरदारी गरेका छन् ।
कांग्रेसको वडा समितिका पदाधिकारी तथा टोल समिति संयोजकहरूका लागि मोरङ क्षेत्र नम्बर ६ ले आइतवार टंकि–सिनवारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले जित्ने निर्वाचन क्षेत्र कांग्रेसले नै पाउनुपर्ने बताएका हुन् ।
‘जित्ने ठाउँमा अर्को पार्टीलाई टिकट दिनुभयो भने विद्रोह हुन्छ । विग्रह हुन्छ’, कोइरालाले भने । मोरङ– ६(१) कांग्रेसको गढ मानिने निर्वाचन क्षेत्र भएको र गठबन्धनमा माओवादी केन्द्रलाई उक्त क्षेत्र दिन लागिएको भन्दै कोइरालाले त्यसो नगर्न भनेका हुन् ।
‘अहिले यहाँ माओवादी केन्द्रको उम्मेदवार हुने चर्चा छ । निर्वाचन क्षेत्र नम्बर ६ (१) माओवादीलाई दिने कुरा आइरहेको छ । तर, त्यसो भयो भने कांग्रेसका कार्यकर्ताका लागि स्वीकार्य हुने छैन’, कोइरालाले भने ।
कतिपय नेता कार्यकर्तालाई गठबन्धनले हामीलाई जिताउँछ भन्ने परेको र टिकटका लागि मरिहत्ते गरेको भन्दै उनले भने, ‘धेरैलाई गठबन्धनले जिताउँछ भन्ने लागेको रहेछ, तर मलाई त्यस्तो लागेको छैन ।’
कांग्रेसले चुनावी तालमेल गर्ने तर, नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने निर्णय गरेको तर, कांग्रेस नेतृत्वले पार्टीको निर्णयलाई नमान्ने अवस्था देखिएको उनले बताए ।
‘कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णय सबै नेताले मान्नुपर्छ । केन्द्रीय समितिले गठबन्धन गरेर बहुमतको सरकार बनाउने भनेको छ । तर, १०० भन्दा कम सिटमा उम्मेदवारी दिने अवस्था आयो भने कांग्रेसको बहुमत कसरी आउँछ ?’, कोइरालाले भने ।
आगामी चुनावमा कांग्रेसले बहुमत प्राप्त गर्नको लागि कम्तिमा १०० सिट गठबन्धनमा कांग्रेसले लिनुपर्ने कोइरालाले बताए ।