०४ साउन २०८३, सोमबार

दीपक–दीपाको ‘छक्का पञ्जा–४’ कात्तिक ४ मा आउने !

दीपक–दीपाको ‘छक्का पञ्जा–४’ कात्तिक ४ मा आउने !

दीपकराज गिरी र दीपाश्री निरौला टिमको फिल्म ‘छक्का पञ्जा–४’ कात्तिकमा प्रदर्शनमा आउने सम्भावना देखिएको छ । दीपक–दीपाको टिम यतिबेला फिल्म प्रदर्शन मिति तय गर्न हलवाला एवं वितरकहरूसँग आन्तरिक छलफलमा छ । जहाँ, फिल्म प्रदर्शनका लागि सम्भावित मितिबारे छलफल भएको छ । 

तिहारको केही दिनअघि अर्थात कात्तिक ४ पहिलो रोजाइमा छ । यद्यपि, यो मितिमा दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ पनि प्रदर्शनमा आउँदैछ । अभिनेता दीपकराजले फिल्म कात्तिक ४ मा ल्याउने विषयमा छलफल भएको लोकान्तरसँग बताए । 

‘हामी छलफलमा हो । त्यसैले अहिल्यै यसै भन्न सकिँदैन’, उनले भने, ‘कात्तिक ४ मा आउने सन्दर्भमा ५०–५० प्रतिशत मानौँ । आउन पनि सक्छ, नआउन पनि सक्छ ।’ उनले फिल्मको छायाँकन अझै १० प्रतिशत बाँकी रहेको र सम्पादनको काम पनि चलिरहेको बताए । 

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भईरहेको ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गरिरहेका छन् । ‘छक्का पञ्जा’का यसअघिका तीनवटै शृंखला भने दीपाश्रीले निर्देशन गरेकी थिइन् । 

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहनेछ । 

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्