बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरूलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन् । आइतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
उनले नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै नेपाल आफैँले ब्राण्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए । अध्यक्ष गोल्यानले भारतले नेपाली अलैँची ७ सयमा नेपालबाट आयात गरेर खाडी मुलुकहरूमा भारु १७ सय रुपैयाँमा निर्यात गर्ने गरेको बताए । उनले नेपाली युवाहरूले नेपाली उत्पादनलाई प्याकिङ गरेर विदेशी निर्यात गर्ने सोचमा भए सीबीफीनले आर्थिक सहयोग गर्नसक्ने बताए ।
अध्यक्ष गोल्यानले युवाहरू भविष्य नभएर वर्तमान भएकाले नेपाललाई परिर्वतन गर्न युवाले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले युवाले प्रयोग गर्ने हरेक वस्तुमा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए । उनले हरेक नेपालीले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नसके तरकारीमा नेपाल तीन महिनामा आत्मनिर्भर बन्नसक्ने दाबी गरे । उनले सरकार तरकारी तथा फलफूलमा आत्मनिर्भर बन्ने गरी नीतिगत काम गर्न भने नसकेको गुनासो गरे ।
अध्यक्ष गोल्यानले नेपाली भएर नेपाली खान र लगाउन सक्यो भने नेपाली उद्योग र किसानलाई राहत हुने बताए । उनले नेपालमा अहिले ४ खर्बको कृषिजन्य वस्तुहरूको आयात भइरहेको भन्दै नेपालमा २ खर्बको नेपालभित्र कृषिजन्य वस्तु उत्पादन गर्न समस्या नरहेको दाबी गरे ।
‘अहिले ४ खर्बको कृषिजन्य वस्तुहरूको आयात गरिरहेका छाैँ । २ खर्बको नेपाली भित्र उत्पादन गर्न कुनै ठूलो कुरा छैन । अलैची ७ सय रुपैयाँमा भारतमा निर्यात गर्छौं । भारतले १७ सय रुपैयाँ भारुमा खाडी मुलुकहरूमा बिक्री हुन्छ । नेपाली अलैची प्याकिङ गरेर खाडी मुलुकमा बेच्न सक्नुहुन्छ । त्यसको लागि आउनुस् । नेपाली कृषिजन्य उत्पादनलाई बाहिर निर्यात गर्ने व्यवसाय गर्नुहुन्छ भने बैंक तथा वित्तीय संस्था परिसंघ र वाणिज्य बैंकहरूले पैसाको कम गर्न दिँदैन । त्यसको लागि सहयोग गर्ने प्रयासमा छौं । अब नेपाली भएर नेपाली लगाऔँ, नेपाली खाऔँ’, उनले भने ।