
टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा भएको छ । नेपाली भाषाका कविहरूको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’को घोषणा गरिएको हो ।
कवि प्रतिभालाई लक्षित गरी पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो । गामबेसीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यो कार्यक्रमलाई अमनप्रताप अधिकारीले निर्देशन गर्ने जनाइएको छ । शोमा भाग लिन इच्छुक कविहरूले कार्यक्रमको इमेल, ह्वाट्स्याप, भाइबर, फेसबुकजस्ता डिजिटल प्लेटफर्ममार्फत आफ्ना कविता आफैँले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् ।
कार्यक्रममा सहभागीबीच प्रतिष्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिष्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउनेछन् । हरेक हप्ता एक जना प्रतिष्पर्धी बाहिरिने र अन्तिममा एकजना प्रतिभा ‘द पोइट आइडल’ बन्नेछ ।
प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहने जनाइएको छ । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।