
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई कारबाही गरेको छ । आइतवार बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारबाहीमा परेका हुन् ।
प्रहरीका अनुसार प्रदेश ३–०१–००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र बा २१ च ६६०९ नम्बरको प्रोमिनेट कलेज नेपालटारका माइक्रोबस चालक भीमनारायण श्रेष्ठ कारबाहीमा परेका हुन् । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालकसमेत कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार मापसे गरेका चालकलाई कारबाही गरिएपछि उक्त बसलाई अर्को चालक बोलाएर गन्तव्यमा पठाइएको छ । सम्बन्धित स्कुलले नै अर्को सवारी चालकको व्यवस्था गरेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले गएको साउन ८ गतेदेखि स्कुल बसलक्षित चेकजाँच अभियान सञ्चालन गरिरहेको छ ।