
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ ठालु वरिष्ठ अधिवक्ता मध्येको एक जना भएको बताएका छन्। संसदको महाभियोग सिफारिस समिति समक्ष आइतवार बयान दिने क्रममा जबराले उक्त टिप्पणी गरेका हुन् ।
२०७१ जेठ महिनामा आफू सर्वोच्च अदालत आउँदा जम्मा १० वटा इजलासमा ठालु वरिष्ठ अधिवक्ताहरूले पालैपालो बहस गर्ने गरेको र न्यायाधीशहरूले ती वरिष्ठ अधिवक्ताहरूलाई कुरेर बस्नुपरेको दृश्य आफूले देखेको बताए ।
पछि आफूले महिला तथा युवा वकिलहरूलाई समेत मौका दिन थालेपछि ठालुहरुले आफूलाई गाली गर्ने गरेको उनले बताए । श्रेष्ठसहित ७–८ जना ठालुहरूले ओगटेर बसेको गिरोहलाई आफूले नष्ट गरेपछि त्यही गिरोह आफूविरुद्ध लागेको उनले बताए । क्विन्टलको कुरा गर्ने श्रेष्ठले महाभियोगको लिड गरेको उनको आरोप छ ।
जबराले अधिवक्ता ओमप्रकाश अर्यालको श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश नबनाईदिएको कारण आफूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी गरेको पनि जिकिर गरे । नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूलाई दुई पटक ओम प्रकाश अर्यालकी श्रीमतीलाई न्यायाधीश नियुक्ति गर्न भने पनि आफूले इन्कार गरेको जबराको भनाइ छ । त्यसपछि उजुरी लिएर डा सुरेन्द्र केसी पुगे पनि त्यसको नेतृत्व अधिवक्ता अर्यालले गरेको उनले आरोप लगाए।
जबराले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परे पनि विभागले त्यो उजुरी निरर्थक रहेको भनेर निर्णय गर्न लागेको बताए ।