०२ साउन २०८३, शनिबार

डायलायसिसमा पालो नपाउँदा समस्या

डायलायसिसमा पालो नपाउँदा समस्या

रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित भइन् । दुवै मिर्गौला फेल भएपछि उनले नियमित डायलायसिस गर्दै आएकी थिइन् । केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि आइन्। छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो । सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०७८ साउन १२ गते नाम दर्ता भयो । तर त्यो नाम दर्तामा मात्रै सीमित भयो । उनलाई  तुलसीपुर ल्याउन सकिएन । उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो । 

त्यस्तै रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराए । विसं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन सकेका छैनन् । उनले अहिले काठमाडौँमा उपचार गराइरहेका छन्। त्यहाँ उनले मासिक रु छ हजारको कोठा भाडा लिएर बसेका छन् भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ । अहिलेसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ । खर्च कम गर्न तुलसीपुर आउन खोजेको भए पनि तुलसीपुरमा शय्या  खाली हुनसकेको अवस्था छैन ।


उनीहरुजस्तै धेरै मिर्गौलापीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन् । राप्ती प्रादेशिक अस्पतालमा पाँचवटा मात्र डायलायसिस मेसिन चालु अवस्थामा छन् । त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनअघि मात्रै आठवटा मेसिन पठाएको छ । तर त्यो जडान हुनसकेको छैन । 

जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताए । “अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ”, उनले भने, “अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।” अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन् । 

कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको उनले बताए । अहिले चार स्टाफ नर्समात्रै भएकाले यसमा थप  हुनुपर्ने बताए । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँचवटा बेडमात्रै छन् । जसबाट २५ जनालाई सेवा दिन सकिएको छ । मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डाययलायसिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । उनका अनुसार अहिले ४० जनासम्म डायलायसिसको प्रतिक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उहाँको भनाइ छ । 

त्यस्तै लमहीमा पनि अहिले करिब ८० जना डायलाइसिसको प्रतिक्षामा छन् । अहिले २४ जनाको डायलायसिस गरिएको छ । ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको  चिकित्सक डा अबदुस बुथ खानले बताए । लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलायसिस सेन्टर सञ्चालनमा ल्याएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्