पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
एकपछि अर्को बलात्कारका घटना सार्वजनिक भइरहँदा समाजमा यसबारेको बहस फेरि तातिएको छ। यस्ता बहसहरू बेलाबेलामा चर्कन्छन्, अनि सुस्तरी सेलाउँछन्। केलाएर हेर्दा बलात्कार नियन्त्रणसम्बन्धी बहसमा मूलतः तीन धारहरू देखिन्छन्। पहिलो धारले बलात्कारको कारक तत्त्व पितृसत्तालाई मान्छ र पितृसत्ताको समूल अन्त्य गर्नुपर्ने धारणा राख्छ। दोस्रो धारले बलात्कार नियन्त्रणका लागि अझै कडा कानून चाहिने र कानूनको कार्यान्वयन पीडितमुखी हुनुपर्ने तर्क गर्छ। यो धारले महिलाको कथनलाई नै अकाट्य प्रमाण मान्नु पर्ने जिकिर पनि गर्छ। अनि तेस्रो धार भने उमेर र सहमतिको विषयमा नै केन्द्रित छ। कानूनमा बालबालिका मानिने साविकको सोह्र वर्षको उमेरलाई घटाएर अठार वर्ष र विवाहका लागि बीस वर्ष कायम गरिएकाले बलात्कारका घटनाहरू बढेका, शुरूको सहमतिपछि कुरा नमिल्दा युवाहरू जेल परिरहेको भन्ने तेस्रो धारको निष्कर्ष छ।
पहिलो धार अरू दुई धारहरूको तुलनामा विषयको सघनता र गहिराइमा पुगेको छ । हाम्रो सामाजिकीकरण प्रक्रियामा रहेका किशोरी, युवती र महिलाप्रतिका विभेद र पर्खालहरू तथा त्यसले जन्माइरहेको बलियो असमानता, अन्याय र फरक संसारलाई यसले सूक्ष्म रूपले औंल्याएको छ। परिवार, समुदाय, समाज, बजार र राज्यसत्तामार्फत पितृसत्ताले महिलामाथि गरिरहेको हिंसाको आयामलाई यसले मसिनोसँग केलाएको छ। त्यहाँ जकडिएर बसेको स्त्रीद्वेषी मनोविज्ञानमाथि यसले चोटिलो प्रहार गरेको पनि छ। तथापि यो धार पितृसत्ता भन्दा पर पुग्दैन र पुग्नुपर्ने आवश्यकता पनि ठान्दैन। शक्ति र सम्बन्धको मान्यतामा नै यो धार अड्किएको छ। हो, बलात्कारका घटनामा पितृसत्ताको प्रमुख दोष छ।
महिला र पुरुषका लागि अलग सामाजिक मान्यताहरू स्थापित गर्ने, त्यसलाई सांस्कृतिक रूप दिने, परिवारमा लागू गराउने, बजारबाट त्यसलाई थप प्रबल बनाउने र राज्यबाट वैधानिकता दिने काम पितृसत्ताले अहिले पनि गरेकै छ। तथापि पितृसत्ता र शक्ति सम्बन्धसँग मात्र निरपेक्ष रूपमा बलात्कार जोडिन्न। बलात्कार मानसिक रोग, विकृति र नैतिक पतनको विषय पनि उत्तिकै हो। मानिसमा प्रकृतिले दिएको ऊर्जालाई सञ्चालन गर्ने ज्ञानको अभावमा भड्किँदाको परिणाममा पनि बलात्कार प्रकट हुन्छ।
बलात्कारका लागि योजना बनाएर नै लाग्ने र अनेक तानावाना निर्माण गर्ने कति व्यक्ति हुन्छन् भने कति त्यस्तो योजना बनाउनमा नै त लाग्दैनन् । तर मौका पाए बलात्कारको कुकर्म गर्न उनीहरू तयार हुन्छन् । यसैगरी समाजमा विस्तारै फाटफुट भएपनि बलात्कारका झूटा घटनाहरू समेत देखिन थालेको अवस्था पनि छ। यसलाई पनि गम्भीररूपमा लिइनुपर्छ। पहिलो धार यी विषयहरूमा मौन छ।
दोस्रो र तेस्रो धार कानून, प्रशासन तथा दण्डको घेरामा नै सीमित छन्। हो, कानूनमा सुधारको अझै पनि खाँचो छ। बेलायतको सेक्सुअल अफेन्स एक्ट, २००३ र स्कटल्यान्डको सन् २००९ को जस्तो विस्तृत र कसुरको प्रकृति तथा गम्भीरता अनुसारको कानून हामीकहाँ अझै पनि छैन। हाम्रो कानूनले करणीका कसूरहरूलाई बेलायतको कानूनले जसरी केलाउन त के सामान्य रूपमा सरसर्ती उल्लेख गर्न सकेको पनि छैन। मुलुकी अपराधसंहिता, २०७४ मा रहेको जबरजस्ती करणीसम्बन्धी प्रावधानहरूमा पर्याप्त संशोधनको खाँचो छ, जसको बारेमा यो आलेखमा उल्लेख गरिएको छैन।
कानून कार्यान्वयनको पाटोमा जाँदा पनि जाहेरी दर्ता गर्न र न्याय प्रशासनको प्रक्रियामा जान पीडितलाई अझै पनि अनेक हन्डर र सास्ती छ। कति घटनाहरूमा कसूरको अनुसन्धान गर्दा नै चरमलापरवाही गरिएको र प्रमाण संकलनको कार्यलाई बिगारिएको पनि देखिन्छ। तथापि बलात्कारको विषय कानून र प्रशासनको मात्र होइन। विषय त्यसभन्दा पर अझै प्रबल छ। दोस्रो र तेस्रो धार त्यसमा प्रवेश नै गर्दैनन्। अझ तेस्रो धारले त बलात्कार हुनुमा महिलाको पनि दोष हुन्छ भने स्त्रीद्वेषी मानसिकता राख्छ।
समग्रमा भन्ने हो भने यी तीनैवाट धारले बलात्कारको सोचाइ र मनोविज्ञानको निर्माण नै हुन नदिने कारक तत्त्वको खोजी गर्ने र मानिसलाई बदल्ने कुरा नै गर्दैनन्।
बलात्कारको घटना भएपछि त्यसको प्रभावकारी अनुसन्धान, अभियोजन र न्यायिक कारवाहीको विषय जति महत्त्वपूर्ण छ, त्यो भन्दा धेरै महत्त्वपूर्ण बलात्कारको घटना नै हुन नदिने निरोधात्मक उपायको अवलम्बन हुन्छ। निरोधात्मक उपायमा पनि बलात्कारको कुकर्म मानिसले किन गर्छ र त्यो कुकर्मको मानसिक स्रोत के हो भन्ने खोजी गरेर व्यक्तिलाई मानसिक, भावनात्मक र आध्यात्मिकरूपमा कसरी बदल्ने भन्ने विषय अझ धेरै महत्वपूर्ण छ। यसका लागि हामी सनातन दर्शनमा नै पुग्नु पर्छ। यहाँ भनिएको सनातन दर्शन कुनै 'रिलिजन' वा धार्मिक आस्थासँग सम्बन्धित छैन।
धर्मको नाम लिएर गरिएका वा हुने कुनै पनि प्रकारको भेदभाव, अपमान र शोषण जस्ता कुप्रथा, विकृति र विसंगतिलाई पनि सनातन दर्शनको रूपमा बुझिनु हुँदैन। र, यो कुनै नैतिक आदर्श वा परिकल्पना पनि होइन। सनातन दर्शन भनेको जीवन विज्ञान हो, जसलाई अनुसन्धान र प्रयोगमार्फत योगको माध्यमबाट दैनिक जीवनमा लागू गर्न सकिन्छ।
अब जाऊँ सनातन दर्शनले कसरी बलात्कार, व्यभिचारलाई रोक्छ भन्ने सम्बन्धमा। सनातन दर्शनले भनेको छ, पच्चीस वर्षको उमेरसम्म ब्रह्मचर्यमा रहनू । विद्या, ज्ञान र सीप आर्जनको कर्ममा निरन्तर लाग्नू । विवाहअघि कसैसँग पनि शारीरिक सम्बन्ध नराख्नू । विवाहपछि पनि विवाहको धर्ममा बस्नू। सनातन दर्शनले भनेको ब्रह्मचर्यको अवस्थाको अर्थ शारीरिक सम्बन्धबाट टाढा रहनु मात्र होइन। किशोर, किशोरी र युवायुवतीले आफ्नो यौन ऊर्जाको नास गर्नुहुन्न भन्ने पनि हो। यौन ऊर्जालाई शारीरिक सम्बन्धमा खर्च नगरी सिर्जनात्मक कार्यमा लगाउनुपर्छ भन्ने हो।
योगको दैनिक अभ्यासबाट यौन ऊर्जालाई मूलाधार चक्रबाट स्वाधिष्ठान, मणिपुर, अनाहक हुँदै सहस्रार चक्रमा ल्याउन सकिने विधि पनि सनातन योगमा छ। त्यसैले यो आदर्शको कुरा मात्र होइन। सनातन दर्शनले प्रमाणित गरेको छ कि मलद्वार र यौनांगको बीच भागमा अवस्थित मूलाधार चक्रमा उनान्सय प्रतिशत मानिसहरूको उनान्सय प्रतिशत चेतना र ऊर्जा अड्किएको हुन्छ। भोग, सम्भोग, विलास र निद्रामा अधिक ऊर्जाको खपत भइरहेको हुन्छ। उनान्सय प्रतिशत मानिसहरूको मृत्यु यसै चक्रमा अड्कँदाको अवस्थामा हुन्छ। सात चक्रहरूमध्येको मणिपुर र अनाहक चक्रमा पुग्दा मात्र पनि मानिसमा बलात्कारको सोचको विकास हुँदैन। आफ्नो व्यावसायिक जीवनमा रहेर नै यो अवस्थामा पुग्न सकिन्छ।
सहमतिको आधारमा भएको वा हुने विवाह अघिको शारीरिक सम्बन्ध पनि सनातन दर्शनमा अर्धम हो। पुनर्विवाहको अवस्थामा बाहेक पति वा पत्नीले राख्ने विवाहेत्तर सम्बन्ध पनि अधर्म हो भन्ने मान्यता छ। चाहे त्यो सहमतिको आधारमा नै किन नहोस्। सनातन दर्शनमा शारीरिक सम्बन्धको आधार भनेको सिर्फ धर्म हो। यहाँ धर्म भनेको देह तथा मनको शुद्धीकरण, चेतना एवं ऊर्जाको बोध, त्यसको सञ्चय प्रयोग र सर्वकल्याणमा आधारित कर्म हो। सनातन दर्शनअनुसार गृहस्थ जीवन पनि योग हो। योग भनेको विज्ञान पनि हो। जोड्ने वा टुक्राउने दुवै विधि विज्ञान र योगमा छ।
आगम र निगम विधि। भौतिक विज्ञानको न्युक्लियर फिसनले (Nuclear Fission) परमाणुलाई टुक्राउँछ भने न्युक्लियर फ्युजनले( Nuclear Fusion) ले परमाणुका कणहरूलाई जोड्छ। योगमा पनि संसारसँग जोडिने र छुट्टिने दुबै विधि छन्। दुबैवाट योगको बाटोमा हिँड्न सकिन्छ। संसारसँग तोडिएर बस्ने संन्यास विधि हो भने संसारसँग जोडिएर योगमा बस्ने परम्परा गृहस्थ विधि हो। गृहस्थ जीवनमा रहेर पनि शिवलाई योगीका पनि महायोगी मानिन्छ। अर्कातिर गौतम बुद्धले गृहस्थ जीवन र दरबार छाडेर बुद्धत्व प्राप्त गरेको अवस्था पनि छ। यी दुबै बाटोमध्ये कुन बाटोमा लाग्ने भन्ने व्यक्तिको रोजाइ हो। संन्यास योग वा गृहस्थ योग दुवैबाट समाधि वा मुक्तिको पथमा पुग्न सकिन्छ। यसको ठीक उल्टो सन्यास विधि र गृहस्थ विधिको धर्ममा नबस्दा भ्रष्टीकरणको गन्तव्यमा पनि पुग्न सकिन्छ। योगी भनिएका कति व्यक्तिहरू बलात्कारी भएका पनि छन्।
सनातन दर्शनका अरू केही मार्गदर्शनहरू पनि हेरौं । सनातन दर्शनले भन्छ- पुरुषले स्त्रीलाई माता, दिदीबहिनी, छोरी मान्नू । स्त्रीले पुरुषलाई पिता, दाजुभाइ र पुत्र ठान्नू । सनातन दर्शनमा बलात्कार भनेको शारीरिक सम्बन्ध मात्र होइन। मन, वचन र कर्म तिनै माध्यमबाट बलात्कार हुन सक्छ। मनमा बलात्कारको भाव उत्पन्न हुनुपनि बलात्कार हो। यस्ता जीवनउपयोगी कैयन विषयहरू सनातन दर्शनमा छन्। यी सिर्फ आदर्शका अमूर्त विषयहरू होइनन्। मानिसले आफ्नो जीवनमा सरल रूपबाट पालना गर्न सक्ने सहज विषयहरू हुन्। हाम्रो दर्शनका यी मन्त्रहरू आज परिवारमा किशोर, किशोरीलाई सिकाइन्छ ? सिकाइन्न। समुदायले सिकाउँछ ? सिकाउँदैन। हाम्रो विद्यालय र महाविद्यालयमा यी सन्देशहरू पढाइन्छ ? पढाइन्न। हाम्रो शिक्षा पद्धतिले यसलाई चिन्छ ? पटक्कै चिन्दैन।
हामी के गरिरहेका छौं त ? उमेर पुगेकाहरूबीच सहमतिमा शारीरिक सम्बन्ध हुनु स्वभाविक हो भन्ने पश्चिमा दर्शन सिकाइरहेका छौं। हाम्रो दिमागमा उमेर र सहमतिको पाश्चात्य बरफ जमेर बसेको छ। पश्चिमेली मान्यतामा हाडनातामा बाहेक उमेर पुगेका केटा र केटीबीचको सम्बन्ध कुनै सामाजिक समस्या होइन। उनीहरूको ध्यान सुरक्षित यौन सम्पर्कमा केन्द्रित हुन्छ। त्यसैले उनीहरूको सन्देश हुन्छ, 'कण्डम लगाऔं, एड्स भगाऔं ।' तर सनातन दर्शनले भन्छ- विवाहअघि कसैसँग पनि शारीरिक सम्पर्क नगर र विवाहपछि पनि दम्पत्तिमा मात्र सीमित होऊ । उमेर पुगेको अवस्था र सहमति छ भने कुनै समस्या होइन भन्ने पश्चिमको भाष्यमा हामी पनि मिसिँदै गएका छौं। बजारले किशोर किशोरी, युवा, युवतीहरूको मस्तिष्क व्यवस्थापन गरिरहेको छ र हामी त्यसैमा रमाइरहेका छौं।
मानिसका दया, करुणा, स्नेह, धीरता, संयमता, सहनशीलता, क्षमा, समर्पण तथा प्रेमका ग्रन्थी, रसायन र भावलाई बजारले निरन्तर सुकाउँदैछ। बजारले समाज, परिवार, खाँदैछ। बजारले मानिसको मस्तिष्क, बेसुध मन, अवचेतन मन, चेतन मन र मनातित मनको व्यवस्थापन गर्ने सफ्टवेयर एवं एप्लिकेसन बनाइरहेको छ, डाउनलोड गरिरहेको छ। एकपटक ती इन्स्टल भएपछि अनइन्सटल हुँदैनन्। फर्म्याटिङ, रिफर्म्याटिङ गर्नुपर्ने हुन्छ, जो अति कष्टकर र सकसपूर्ण हुन्छ। सनातन दर्शनले मानिसमा प्रेम, करुणाको रसायन सञ्चार गरिरहन्छ। त्यसैले हाम्रो सनातन दर्शनका यी निर्देशनहरू अन्धविश्वास , अव्यावहारिक अति आदर्श र असम्भव होइनन्। यी मार्गदर्शनहरू स्वतन्त्रताविरोधी पनि होइनन्।
पश्चिमा दर्शनमा शरीरको स्वाद, सुख, आनन्द, भोग र विलास केन्द्रमा छ। यसका लागि पश्चिमा दर्शनले विभिन्न प्रयोगहरू गरिरहन्छ। उता सनातन दर्शन भने शरीरको सुख, स्वाद र स्वतन्त्रताभन्दा अनन्त आनन्दको खोजी र प्राप्तिमा केन्द्रित छ। इन्द्रीयहरूलाई नियन्त्रण र अनुशासनमा राख्ने मान्यताहरू सनातन दर्शनमा छन्। सनातन दर्शनले शरीरको पोषण, रक्षा र प्रेमको कुरा गर्छ तर शरीरलाई पुल्पुल्याउने र शरीरको स्वादका लागि स्वतन्त्रतालाई दुरूपयोग गर्ने विषयलाई भने यसले परित्याग गर्छ।
इन्द्रीयहरूको कर्मलाई पनि धर्मको सूत्रबाट निर्देशित गर्न योग, समाधि र अनुष्ठानहरू छन्। तर सनातन दर्शनका मान्यताहरू र हाम्रो जीवनबीच धेरै लामो दूरी बनेको छ। बरु पश्चिममा हाम्रो दर्शनको अध्ययन, अनुसन्धान हुन्छ। हामी भने बडो विचित्र अवस्थामा छौं, हामीकहाँ सनातन दर्शन केबल पूजापाठ, भजन कीर्तन र कर्मकाण्डमा नै सीमित छ।
सनातन दर्शनलाई अनुसन्धान र प्रयोगबाट युगसँग जोड्ने कर्मको अनुष्ठान परिवार र शैक्षिक संस्थाहरूमा हुनुपर्ने हो, जो हामीकहाँ छैन। पूर्वीय दर्शनमा बुद्धपछि त्यस्तो कोही विख्यात चिन्तक नजन्मनुको मूल कारण पनि यही हो। पश्चिमले भने लगातार चिन्तक जन्माइरहनुको कारण भनेको उनीहरूको अनुसन्धानको कर्म नै हो।
हो, सनातन दर्शनको शिक्षा दिँदैमा सबैले त्यसको पालना र अवलम्बन गर्छन् भन्ने छैन। समाजको समग्र विकृति, नैतिक स्खलनको उन्मुलन हुन्छ भन्ने पनि होइन। तथापि परिवार, समुदाय र राज्यबाट किशोर किशोरीका कलिलो दिमागमा सनातन दर्शनका विचारहरू प्रवाह गरियो भने सामाजिकीकरणको आयाम पक्कै बदलिन्छ। विचारको प्रभाव शरीर र कर्ममा पर्छ। कर्मको प्रभाव जीवनमा पर्छ। जीवनको प्रभाव समाजमा पर्छ। अनि समाजले फरक रूप र आकार लिन्छ। समाजमा अपराध धेरै कम हुन्छ। व्यभिचार धेरै हट्छ। इमान्दार र चरित्रवान नागरिकहरूको सख्या बढ्छ।
आज स्वतन्त्रता आवादीतिर भन्दा बर्बादीतिर जानुको कारण कुनै व्यक्ति विशेषको दोष र जिम्माको विषय होइन। यसको दोष मातापिता, परिवारले लिनुपर्छ। समुदायले लिनुपर्छ। राज्यले लिनुपर्छ। कुनै किशोरले किशोरीलाई बलात्कार गर्नुको कारक तत्त्व परिवार, समाज र राज्य हो। किन जन्म दिने बाबुले आफ्नै छोरीलाई बलात्कार गर्छ? किन चौध वर्षको बालकले आठ वर्षकी बालिकालाई बलात्कार गर्छ? किन आमा र हजुरआमा उमेरका माताहरूमाथि बलात्कार हुन्छ? यसको सूक्ष्म कारण खोतल्दा हाम्रो हुर्काइ, सोचाइ, मनोविज्ञान र सामाजिकीकरणमा पुगिन्छ। हामी समस्याको दिगो समाधानतर्फ जादैनौं । कानून, प्रशासन, दण्डमा नै गएर टुंगिन्छौ । बाल बालिका मान्ने र विवाह गर्ने उमेर कति कायम गर्ने भन्ने बहसमा अल्झन्छौं ।
हो, कानून र यसको कार्यान्वयन महत्त्वपूर्ण साधन हो। तर यो विशाल ब्रम्हाण्डमा कानून एक कण मात्र हो। कानूनले मानिसलाई असल, नैतिक, चरित्रवान, इमान्दार बनाउने होइन। सन्तानलाई असल, इमान्दार बनाउने प्रारम्भ माता र पिताबाट हुन्छ। परिवारबाट बाल बालिकालाई सकरात्मक ऊर्जा सञ्चार हुनु पर्छ। विचार र संस्कृतिबाट ऊर्जाको प्रयोग र सञ्चालन गर्ने ज्ञान र सीप प्राप्त हुनुपर्छ। माता र पिताको जेनेटिक कोड शिशुमा जाने हुँदा पिता र माताको विचार, कर्म र भावना जस्तो छ, शिशुमा त्यसको पूर्ण प्रभाव पर्छ। शिशुहरूको जन्म माता र पिताको योजनामा आधारित हुनु पर्छ, संयोग वा दुर्घटनामा होइन।
गर्भमा रहँदादेखि नै शिशुको विकास हुने प्रक्रियामा माता र पिताको व्यवहारले पार्ने प्रभावबारे सिकाउने शिक्षा सनातन दर्शनमा छ। ब्रह्मचर्यको व्यावहारिक ज्ञान छ। ऊर्जालाई सञ्चालित गर्ने विधिका आधारभूत सीपहरू छन्। विवाह के हो ? के होइन? भन्ने सन्देश छ। सनातन दर्शन कुनै नैतिक शिक्षा मात्र होइ, यसको विज्ञानलाई अनुसन्धानबाट पश्चिमले सिक्दैछ। सनातन दर्शनको अवलम्बन गर्न कुनै गेरु वस्त्र धारण गर्नु पर्दैन। घर, परिवार, गृहस्थ जीवन छाडेर हिँड्नु पर्दैन। मन्दिरमा पूजाको थाली लिएर गइरहनु पनि पर्दैन। आफ्नो जे जुन पेशा, व्यवसाय, दैनिकी छ, त्यसैमा क्रियाशील हुँदै सनातन दर्शनलाई अवलम्बन गर्न सकिन्छ। सनातन दर्शनका मार्गदर्शनको पालनाबाट किशोर, किशोरी, युवा, युवती मात्र होइन, प्रौढहरू पनि भ्रष्टीकरणको पथमा पुग्न जोगिन्छन्।
तर फेरि पनि हाम्रो बहस भने कानूनको सुधार, उमेर र सहमतिको विषयमा गएर टुंगिन्छ । यो कुनै दिगो र फराकिलो समाधान नै होइन। अझ आजको समयमा बालबालिका मानिने उमेर सोह्र वर्ष हुनुपर्ने भन्ने बुझाइ त विज्ञानसँग नै मेल खादैन। यसबारेमा पनि संक्षिप्त रूपले केही उल्लेख गरौं।
किशोर, किशोरी वा टीनएजरहरूको मस्तिष्क र बीस वर्षमाथिका व्यक्तिको मस्तिष्कलाई विज्ञानले एकदमै फरक रूपमा बुझ्छ। किशोर, किशोरीमा दिमागको प्रिफ्रन्टल कर्टेक्स (Prefrontal Cortex) खासै विकास भइसकेको हुँदैन। त्यसको पर्याप्त विकास हुन बाइस तेइस वर्षसम्म पनि लाग्न सक्छ। तर सामान्यतया बीस वर्ष पुगेपछि भने परिपक्वताको चरणमा पुग्छ। अपवादमा कसैको भने उमेर गएपनि राम्रोसँग मानसिक विकास भएको नहुन सक्छ। 'उमेर पचपन (पचपन्न), बुद्धि बचपन' भन्ने उखान शायद त्यही भएर बनेको होला। जेहोस् किशोर किशोरीमा भने त्यो विकासको प्रक्रियामा नै हुन्छ।
प्रिफ्रन्टल कर्टेक्स विकास भएपछि मानिसले कुन कुरा ठीक र कुन बेठीको हो भनेर राम्रोसँग छुट्याउन सक्छ। विवेकसम्मत व्यवहार गर्न सक्छ। परिस्थितिको विश्लेषण गरेर उपयुक्त निर्णय गर्न सक्छ। लाभ, हानी र सम्भावित जोखिमको पहिचान र विश्लेषण गर्न सक्छ। वयस्कले आफ्नो दिमागको दायाँ र बायाँ भाग आवश्यकताअनुसार सन्तुलित रूपमा प्रयोग गर्न सक्छन्। दायाँ भाग भनेको इमोसनल इन्टेलिजेन्स (emotional intelligence) हो भने बायाँ भाग भनेको इन्टेलेक्च्युअल इन्टेलिजेन्स( intellectual intelligence) हो।
किशोर किशोरीमा प्रिफ्रन्टल कर्टेक्सको राम्रो विकास भई नसक्ने हुँदा उनीहरू आफ्ना लागि हानी पुग्ने किसिमका कार्य पनि गर्न सक्छन्। ठीक र बेठीकको स्पष्ट भेद खुट्याउन सक्दैनन्। कुनै योजना बनाउन सक्दैनन्। अलि रिसालु, झगडालु पनि हुन्छन्। जिद्दी पनि गर्छन्। सानो कुरामा पनि चाँडै रिसाउने र खुशी हुने पनि गर्छन्। कसैले फकाउँदा चाँडै फकिन्छन् । कसैले गरेको केही खास व्यवहारबाट क्षणमै प्रभावित हुन्छन्। दिर्घकालीनरूपमा सोचेर काम गर्न सक्दैनन्। उनीहरू रेसनलभन्दा बढी इमोसनल हुन्छन्। किनकि उनीहरूको दिमागलाई अमेगडाला (Amygdala) ले नियन्त्रण गर्छ। अमेगडाला भनेको इमोसनको केन्द्र हो।
टीनएजरहरू जोखिम लिन्छन्। सिक्न धेरै खोज्छन्। बढी स्वतन्त्रता चाहन्छन्। आफूलाई मन परेको मानिसले कहीँ बोलाएमा सजिलै जाने, उसको कुरा पत्याउने र मान्ने पनि गर्छन्। त्यसैले टीनएजर किशोरीलाई पुरुषले कुनै विश्वास दिलाएर वा फकाएर सजिलै यौनशोषण गर्न सक्छ। हामी यो कुरा नबुझेर त्यो केटी किन होटलमा गएकी त ? किन त्यस्तो राति पनि घर छाडेर हिँडेकी त? किन हाँसीहाँसी जिस्किएर गफ गरेकी त ? होटलमा जाने, फोटो खिचाउने अनि सहमति छैन भनेर हुन्छ त? भन्ने जस्ता प्रश्नहरू गरेर किशोरीमाथि नै शंका गर्छौं, दोष थुपार्छौं। जबकि उनीहरूमा त्यो तहको परिपक्वता विकास भएकै हुन्न।
उमेर पुगेकाको हकमा समेत सँगै होटलमा जानु, डुल्नु, ख्यालठट्टा गर्नुलाई यौन सम्बन्धका लागि मञ्जुरी दिएको मानिन्न । उमेर पुगेकाहरूबीचको शारीरिक सम्पर्कका निम्ति समेत प्रत्येक चरण र अवस्थाका लागि स्वतन्त्र, शर्तरहित र पूर्ण मञ्जुरी (टोटल एण्ड फुल कन्सेन्ट इन इच एण्ड एभ्री स्टेप) दिएको हुनुपर्छ भन्ने मान्यता छ भने किशोरीको हकमा यो अवस्था नै हुँदैन। त्यसैले किशोर अवस्थामा उनीहरूलाई सही रूपमा सिकाइयो भने उनीहरू महान हुने बाटोमा लाग्छन् र सिकाउन सकिएन भने बर्बादीको मार्गमा पनि जान्छन्। नेपाली समाजले त्यही भएर उनीहरूलाई काँचो माटोको भाँडा भनेको होला।
किशोर किशोरीको दिमाग र बीस वर्ष नाघेका व्यक्तिहरूको काम गर्ने तरिका तथा सोचमा निकै ठूलो भिन्नता हुन्छ। कुन काम दिमागको कुन भागले गरिरहेको हुन्छ र बाह्य वातावरणले दिमागसँग कसरी प्रतिक्रिया गरिरहेको हुन्छ, त्यो प्रतिक्रियाको दिमागी प्रभावलाई एमआरआई र फङ्सनल एमआरआईले पत्ता लगाउँछ। किशोर किशोरी र वयस्क व्यक्तिको दिमाग विकासको चरण र प्रक्रियाको भिन्तता अनुसार के भनिन्छ भने वयस्क तथा किशोर किशोरी अलग-अलग प्राणी हुन्।
खानपान, प्रविधि, वातावरण, जेनेटिक कोडको प्रभावले किशोर किशोरीको शारीरिक विकास चाँडो हुन सक्छ। शरीर ठूलो देखिन सक्छ। अंगहरूको आकार चाँडो विकास भएको देखिन सक्छ। तर मानसिक रूपमा भने उनीहरू बच्चा नै हुन्। आफ्नो पूर्ण र स्वतन्त्र सहमति व्यक्त गर्ने तथा निर्णय गर्ने अवस्थामा उनीहरू पुगेकै हुँदैनन्। वयस्क र किशोर किशोरी दिमागको दृष्टिकोणमा अलगअलग अवस्थाबाट गुज्रिरहेका हुन्छन्। विज्ञानले भनेको यो विषय बुझ्न जरुरी छ। विज्ञानलाई त मानौं। मनोगत तर्क गरेर, आफ्ना पेशागत, जीवनजन्य भोगाईलाई आधार मानेर विज्ञानलाई काट्न मिल्ला र?
फेरि अठार वर्षमुनिका किशोर किशोरीलाई बालबालिका मान्ने अवधारणा कुनै विदेशी वा आयातित अवधारणा होइन। किशोर किशोरीलाई अल्लारे उमेर मान्ने नेपाली समाजको बुझाइ आजको हो र? कि त्यो पनि विदेशीले निर्माण गरिदिएको बुझाइ हो? त्यसैले अठार वर्षलाई सोह्र वर्षमा झार्नु समाधान नै होइन। आज बच्चीहरू दश एघार वर्षको उमेरमा नै रजस्वला हुन थालेका छन् । अब उनीहरूलाई परिक्व भएको मानेर विवाहको उमेर यसै अनुसार घटाउन मिल्ला त ? अवश्य मिल्दैन। त्यसैले उमेरको विषयमा बहस बहकिएको छ, जो आत्मपरक छ।
यो समस्याको दिगो समाधानतिर जाने हो भने सनातन दर्शनमा नै पुग्नुपर्छ। परिवार, समुदाय, समाज र राज्यको शिक्षा पद्धतिमा यसलाई आन्तरिकीकरण गरिनुपर्छ। बलात्कारका घटनाहरूको संख्या मात्र होइन, यसको प्रकृति, स्वरूप, गम्भीरता र आयाम निरन्तर फराकिलो र डरलाग्दो हुँदै गएको छ। बलात्कारले हामीले अंगीकार गरेको स्वतन्त्रता, मानवीय मर्यादा, दिगो विकास र समावेशी लोकतन्त्रको मान्यतालाई ठाडै प्रहार गरिरहेको छ, जुन समाज महिलाका लागि असुरक्षित छ, त्यहाँ पुरुषहरू कसरी चैनसँग बस्न सक्छन् ?
बलात्कार रोक्नका लागि अब आमाहरूले उमेर पुगेका आफ्ना छोराहरूलाई वाचा गराएर परिवारबाट अभियानको शुरूआत गर्नुपर्छ। उमेर पुगेको छोराले आमाको अघि शिर निहुराएर प्रण गरोस्, आमा म कुनै बालिका, किशोरी र महिलालाई बलात्कार गर्ने छैन। आमाको अघि गरेको प्रणको उल्लंघन छोराले पक्कै नगर्ला । यो आरम्भ हो, अन्त्य होइन। मनमा बलात्कारको सोच एवं मनोविज्ञानको जन्म र विकास हुन नदिनका लागि त सनातन दर्शनको मार्गदर्शन र योगकै बाटोमा जानुपर्छ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...