०८ साउन २०८३, शुक्रबार

अरुबेला जुधाई, दशैंमा एकल रिलिज

अरुबेला जुधाई, दशैंमा एकल रिलिज

पछिल्लो समय दुईदेखि तीनवटासम्म नेपाली फिल्म एकसाथ रिलिज भइरहेका छन् । भदौ महिनालाई नै हेरौँ, ३ गतेदेखि ‘प्रेम गञ्ज’, ‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ गरी तीन नेपाली फिल्म रिलिज भए । १० गते ‘प्रकाश’ र ‘राधा’ गरी दुई नेपाली फिल्म रिलिज भए । त्यसको एक सातापछि १७ गते रिलिज भए, ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ । गत शुक्रवार अर्थात २४ गतेदेखि पनि ‘ ऐना झ्यालको पुतली’ र ‘गोर्खाः विनिथ द ब्रेभरी’ गरी दुई नेपाली फिल्म रिलिज आएका हुन् । 

यतिबेला फिल्महरू एक–अर्कासँग जुधिरहे पनि दशैंमा भने एकल रिलिज हुँदैछन् । फिल्म प्रदर्शन र व्यापारका हिसाबले दशैं निर्माता एवं निर्देशकको पहिलो रोजाइ मानिन्छ । सोही कारण दशैंमा फिल्म रिलिजका लागि हानथान हुने गरेको विगतमा देखिन्थ्यो । तर, यसवर्ष भने दशैंमा फिल्महरूले एकल रिलिजको अवसर पाउने भएका हुन् । 

असोज ७ गते प्रदीप खड्का र क्रिष्टिना गुरुङ स्टारर फिल्म ‘प्रेम गीत ३’ रिलिज हुँदैछ । असोज १४ मा धिरज मगर र अदिति बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ रिलिज हुँदैछ । असोज २१ मा दयाहाङ राई, सौगात मल्ल स्टारर फिल्म ‘दुई नम्बरी’ रिलिज हुँदैछ । असोज २८ मा सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’ रिलिज हुँदैछ । 

दशैं आसपासमा प्रायः प्रतिक्षित मानिएका फिल्महरू रिलिज हुन लागेको हुँदा पनि निर्माताहरू फिल्म जुधाउन डराएको हुनसक्ने फिल्मकर्मीहरू बताउँछन् । ‘प्रेम गीत ३’लाई यतिबेला निकै प्रतिक्षाका साथ हेरिएको छ । ‘बाबरी’ फिल्मले पनि दर्शकलाई हलसम्म तान्ने फिल्मकर्मीको आकलन छ । 

यता, पोष्टर र टिजरबाट ‘दुई नम्बरी’ले राम्रो ‘हाइप’ बनाएको छ । सो कारण उक्त फिल्म पनि दर्शकको रोजाइमा पर्ने फिल्मकर्मीको आकलन छ । सन्तोष पन्तको निर्माण र जम्बो कलाकारहरूको अभिनय रहेका कारण ‘हिजो आजका कुरा’ पनि रुचाउन सक्ने आकलन छ । 

नेपाली फिल्मले एकल प्रदर्शनको अवसर पाए पनि विदेशी फिल्मसँग भने प्रतिस्पर्धा गर्नुपर्नेछ । दशैंको सेरोफेरोमा ‘विक्रम बेधा’, ‘पीएसआई’ जस्ता विदेशी फिल्महरू प्रदर्शनमा आउँदैछन् । दशैं आसपासमा नेपाली फिल्म एकल प्रदर्शनमा आउँदा तिहार आसपासमा भने एक–अर्को नेपाली फिल्मबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्