०५ साउन २०८३, मंगलबार

निर्वाचन आचारसंहिता सच्याउन माओवादी केन्द्रको माग

निर्वाचन आचारसंहिता सच्याउन माओवादी केन्द्रको माग

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मन्त्रीले चुनावमा प्रचार–प्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता तत्काल हटाउन निर्वाचन आयोगसँग माग गरेका छन् । उनले बहुदलीय राजनीतिक प्रणालीमा नेताहरू नै मन्त्री हुने हुनाले उनीहरूले निर्वाचनको प्रचार–प्रसार गर्न नमिल्ने भन्ने कुरा नहुने उल्लेख गर्दै सो प्रावधान तत्काल हटाउन आयोगसँग माग गरे । 

सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन आयोगले राज्यको स्रोत–साधनको दुरुपयोग हुन नदिन भने निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट पारे । तर, दलका नेताहरू नै मन्त्री हुने भएकाले उनीहरूलाई निर्वाचन प्रचारप्रसारमा रोक लगाउने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गर्न नमिल्ने उनले तर्क छ । 

‘यो आचारसंहिताको सवालमा मन्त्रीहरूले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो । यो कुरा मिल्दैन । राजनीतिक प्रणाली चाहिँ बहुदलीय हुने । अनि, राजनीतिक त्यो प्रणालीले नेताहरू मन्त्री पनि हुने । तर, मन्त्रीहरूले चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन । यो उपयुक्त छैन’, उनले भने, ‘अनुगमन कहाँ गर्नुपर्छ भने राज्य र सरकारको साधनको प्रयोग गरिएको छ कि छैन ? त्यहाँ अनुगमन गर्न जरुरी छ । तर, मन्त्रीले चुनाव प्रचारप्रसार गर्न नपाउने भन्ने पनि हुन्छ र ? यस्तो कुरा चाहिँ सच्याउन जरुरी छ ।’

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचनमा समानुपातिक सहभागिताको प्रश्नमा भने संविधानमै संशोधन गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्