
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शुसँगको भेटवार्तामा नेपालका ठूला परियोजनामा चिनियाँ लगानी भित्र्याउन आग्रह गरेका छन् ।
मंगलवार बिहान बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा चिनियाँ लगानी बढाउन आग्रह गरेको उनको सचिवालयले बताएको छ ।
त्यसैगरी, बेल्ट एण्ड रोड इनिसिटिभ्स (बीआरआई)लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने विषयमा पनि प्रचण्डले जोड दिएको सचिवालयले जानकारी दिएको छ ।
त्यसबाहेक, प्रचण्डले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व शुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न आग्रह गरेका छन् । ‘नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने कुरा उहाँले उल्लेख गर्नुभयो’, भेटपछि प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीको सम्बन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको प्रचण्डले बताएका छन् । ‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौँ । राष्ट्रपति सी जिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस्’, प्रचण्डले भनेका थिए ।
त्यसैगरी, नेपाल एक चीन नीतिप्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिनेमा सजग रहेको प्रचण्डले बताएको प्रेस नोटमा उल्लेख छ ।
चिनियाँ पक्षको नेतृत्व गरेका राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शुले नेपाल चीनको असल मित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताएका छन् ।
त्यसैगरी, उनले एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा नेपाललाई धन्यवाद व्यक्त गरेका छन् । ‘उहाँले नेपालको विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहेको बताउँदै नेपाल–चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि पहल गर्ने बताउनुभयो’, प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।