
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । मंगलवार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू र बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
‘बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बद्नाम गर्ने कोसिस गरिएको छ । अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने होइन । विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत हल पाउनुपर्छ । नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेण्ड सोमा झार्न सक्नुहुन्छ’, उनले भने ।
अध्यक्ष केसीले बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाईमा पुर्याउने दाबी गरे । उनले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे । उनले बाहिरी देशका चलचित्रहरूले पनि नेपालमा स्थान पाउनुपर्ने, तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए ।
अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए ।