
नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय भ्रमणको क्रममा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा चिनियाँ पक्षको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा लि नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग एमाले अध्यक्ष ओली नेतृत्वको एमाले प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र चीनबीच भएका उच्चस्तरीय भ्रमण र त्यसक्रममा भएका महत्वपूर्ण सहमति तथा सम्झौताहरू कार्यान्वयन गर्न एमाले अध्यक्ष ओलीले आग्रह गरेको एमालेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘चिनियाँ राष्ट्रपति नेपाल आउँदा र राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रीको हैसियतमा केपी ओली चीन भ्रमणमा जाँदा रणनीतिक साझेदारीका विषयमा सहमति भएको थियो । त्यसलाई कार्यान्वयन गराउने बारेमा विषयमा कुरा राखेका छौँ’, रिजालले भने ।
त्यसैगरी, बीआरआईअन्तर्गतका आयोजना कार्यन्वयनको सन्दर्भमा पनि भेटवार्तामा छलफल भएको उनले बताए ।
भेटमा ओली नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल ‘एक चीन’ नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकीविरूद्ध प्रयोग हुन नदिने कुरामा स्पष्ट रहेको बताएको रिजालले जानकारी दिए ।
त्यसैगरी, चीनले अन्तर्राष्ट्रिय क्षेत्रमा लिएको अहस्तक्षेपको नीतिको एमाले प्रतिनिधि मण्डलले सह्राना गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्न लागेको २०औँ राष्ट्रिय महाधिवेशनको लागि ओलीले शुभकामना दिएका छन् ।
भेटमा चिनियाँ प्रतिनिधि मण्डलले पनि उच्चस्तरीय भ्रमणको क्रममा भएको सहमति र सम्झौता कार्यन्वयन हुनुपर्ने पक्षमा आफूहरू रहेको बताएको रिजालले जानकारी दिए ।
चार दिने भ्रमणमा सोमबार नेपाल आएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी कमिटी अध्यक्ष लीले नेपालले अवलम्बन गरेको परराष्ट्र नीतिको स्वागत गर्दै चीन नेपालबीच दुई पक्षीय सहयोगलाई निरन्तरता दिन चाहेको उल्लेख गरेका थिए ।
भेटका अवसरमा लीले चिनियाँ राष्ट्रपति सी चिनफिङले ओलीलाई व्यक्तिगत रूपमा पठाएको सुस्वास्थ्यको कामना र सम्झना सुनाएका थिए ।
चिनियाँ प्रतिनिधि मण्डलसँग भेटका लागि एमालेका अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, विदेश विभाग प्रमुख राजन भट्टराई, उपमहासचिव विष्णु रिमाललगायत नेताहरूको सहभागिता रहेको थियो ।
ली नेृतत्वको प्रतिनिधि मण्डलले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेटवार्ता गरिसकेको छ । त्यसबाहेक, चिनियाँ टोली र प्रधानमन्त्री शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग आजै भेटवार्ता हुँदैछ ।