
सोमवार काठमाडौंको स्टार मलमा रहेको ‘कमेडी क्लब विथ च्याम्पियन्स’को स्टुडियोमा कलाकारहरूको जमघट देखियो । असोजमा रिलिज हुन लागेका २ नेपाली फिल्मका कलाकारहरू आफ्नो फिल्मको प्रमोशनका लागि लोकप्रिय शोमा पुगेका थिए ।
केही दिन अगाडि मात्र २६औँ भाग सफलतापूर्वक सम्पन्न गर्दै केक काटेको यो शोको टिम नेपाली फिल्मका कलाकारहरू र आम दर्शकले देखाएको मायाले उत्साहित छ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाखभन्दा बढी पटक हेरिन थालेपछि फिल्मीकर्मीका लागि फिल्म प्रमोशनको हब बन्न थालेको हो । सोमवार असोज १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘बाबरी’का मुख्य कलाकारहरू अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी क्लब पुगे ।
नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए । यस्तै, सोमवार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिजो आजका कुरा’का कलाकारहरू सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।
शोका सञ्चालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने, ‘नेपाली फिल्म क्षेत्रले हामीलाई खुबै माया दिएको छ । विशेषगरी, निर्माताहरूले फिल्म प्रमोशनका लागि एक महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र फिल्म क्षेत्रले दिएको विश्वासले उत्साहित छौँ ।’
एकातिर, फिल्म रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ–नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ फिल्मकर्मीका लागि हब बन्न थालेको हो ।