२६ असार २०८३, शुक्रबार

ऊर्जा सहकार्य विस्तार गर्न भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज भारतमा

जेठ २४, २०८३
काठमाडौं
ऊर्जा सहकार्य विस्तार गर्न भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेज भारतमा

भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज ऊर्जा, व्यापार र लगानीलगायत विषयमा छलफल गर्न जुन ३ देखि ७ तारिखसम्म भारत भ्रमणमा रहेकी छन् । 

भारतले हाल भेनेजुएलाबाट कच्चा तेल आयात बढाइरहेका बेला उनको भ्रमणलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भ्रमणका क्रममा रोड्रिगेजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछिन् । 

दुवै पक्षबीच ऊर्जा, व्यापार, लगानी, औषधि, स्वास्थ्य, यातायात तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने बताइएको छ ।

रोड्रिगेजले भारतको आर्थिक राजधानी मुम्बईमा ऊर्जा क्षेत्रका प्रमुख उद्योगी तथा कम्पनीका प्रतिनिधिसँग पनि भेट गर्ने कार्यक्रम रहेको भारतीय अधिकारीहरूले जनाएका छन् । 

मे महिनामा भारत भेनेजुएलाको तेल खरिद गर्ने दोस्रो ठूलो मुलुक बनेको थियो । सो अवधिमा भारतले दैनिक ४ लाख २७ हजार ब्यारेल भेनेजुएली कच्चा तेल आयात गरेको थियो । अमेरिकी बजारपछि भारत नै भेनेजुएली तेलको सबैभन्दा ठूलो ग्राहक बनेको तथ्यांकले देखाएको छ ।

भारतको प्रमुख निजी कम्पनी रिलायन्स पछिल्ला महिनामा भेनेजुएलाको कच्चा तेल खरिद गर्ने शीर्ष तीन कम्पनीमध्ये एक बनेको छ ।

विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता भारतले अमेरिकी–इजरायली युद्धका कारण इरानसँग सम्बन्धित क्षेत्रमा उत्पन्न आपूर्ति अवरोधपछि वैकल्पिक स्रोत खोजिरहेको छ ।

विशेषगरी विश्व ऊर्जा व्यापारको महत्वपूर्ण मार्ग मानिने होर्मुज जलडमरू प्रभावित बनेपछि भारतले भेनेजुएलासँगको ऊर्जा सम्बन्धलाई थप प्राथमिकता दिएको छ ।

रोड्रिगेज यसअघि सन् २०२५ को फेब्रुअरीमा भेनेजुएलाकी तेलमन्त्रीका रूपमा भारत आएकी थिइन् । त्यसबेला उनले ‘इन्डिया इनर्जी विक’ सम्मेलनमा सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गरेकी थिइन् ।

हालै अमेरिकी प्रतिबन्ध केही खुकुलो बनाएपछि भारतले भेनेजुएलाबाट तेल खरिद पुनः शुरू गरेको हो । यसअघि अमेरिकी नीतिका कारण भारतले केही समय भेनेजुएली तेल आयात रोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्