
सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयानका सन्दर्भमा उठेका प्रश्नमा जिरहका लागि अधिवक्ता ओमप्रकाश अर्यालले महाअभियोग सिफारिस समितिमा जिरह गर्ने भएका छन् ।
जबराले समिति समक्ष बयान दिने क्रममा आफूलाई समेत लान्छना लगाएर आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको जिरह गर्न पाउनुपर्ने उनको भनाइ छ ।
‘महाभियोगको आरोप लागेका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले सम्मानित समिति समक्ष बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको लागि सम्मानित समिति समक्ष उपस्थित भइ निजलाई जिरह गर्न पाऊँ भनी सादर निवेदन गर्दछु’, उनले समितिमा दिएको निवेदनमा भनिएको छ ।
उनले समितिको कठघराभित्र रहेको महाअभियुक्तले विना रोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने, तर निजद्वारा आरोपित हुन पुगेको पक्षले भने सफाइ पेश गर्ने मनासिब मौका नपाउने अवस्था बन्न नहुने पनि बताएका छन् । बयानका क्रममा जबराले अर्यालले श्रीमतीलाई न्यायाधीश बनाउन प्रस्ताव गरेको तर आफूले नमान्दा सम्पत्ति सुद्धीकरणमा उजुरी हालेको आरोप लगाएका थिए ।