०२ साउन २०८३, शनिबार

‘बच्चा चोर’ अफवाह - यस्तो छ रुपन्देही घटनाको रियालिटी

‘बच्चा चोर’ अफवाह - यस्तो छ रुपन्देही घटनाको रियालिटी

 गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए ।

यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि  हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्यो । जिल्लामा बालबालिका चोरको हल्ला निकै फैलियो ।

मङ्गलापुरमा साँझ एक अपरिचित महिलाले एक बच्चा झाडीको बाटो लगिरहेको देखेर रोकेर सोधपुछ गर्दा भाग्न खोजेको र तुरुन्त मङ्गलापुर पुलिसलाई खबर गरी पक्राउ गरेको भनी गलत हल्ला फिँजाइयो । प्रहरीले सोधपुछ गर्दा यो घटना गलत भएको पुष्टि भयो ।

भारतीय महिलाले चोरेर लैजाँदै गरेको भनी गलत प्रचार गरेको यो घटना प्रहरीले आफन्तलाई सोधपुछ गर्दा बालिका उनैको छोरी भएको प्रमाणित भयो । बच्च चोरी गरी हिँडेको भन्ने आरोप लगाइएकी महिला पाल्पा तानसेन नगरपालिका–७ लामीडाँडा बस्ने ज्योति रञ्जन हुन् । यसमा देखिएकी पाँच वर्षकी बालिका ज्योतिकै छोरी रहेको आफन्तले प्रमाणित गरेपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।

भारत माइती भएकी ज्योतिलाई नेपाली भाषा राम्रोसँग बोल्न नआउने भएकाले अरुको बच्चा अपहरण गरेर भारत लैजान लागेको आरोप स्थानीयले लगाएका थिए । तर प्रहरीले अनुसन्धानपछि उनीहरूलाई छाडेको जनाएको छ ।

यसैगरी बुटवलमा केही दिनअघि योगी भोलानाथ भट्टराईलाई आफ्ना नातिसँग हिँडिरहेका बेला बुटवलमै स्थानीयले बच्चा चोर भन्दै घेरा हाले । बच्चा चोरेको आरोप लगाउँदै भट्टराईलाई प्रहरीमा बुझाए । प्रहरीले सोधपुछ गर्ने क्रममा हजुरबुवा र नाति भन्ने खुलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसी बताउँछन् । सोधपुछपछि दुवै जनालाई परिवारको जिम्मा लगाइएको उनको भनाइ छ ।

बच्चा चोरको अनावश्यक हल्लाले समाजमा एकले अर्कोलाई हेर्न दृष्टिकोण फेरिएको छ । बजारमा नयाँ मानिस बालबालिकासँग देख्नेबित्तिकै चोरको आशङ्का गर्ने र अनावश्यक तनाव दिने काम भएको प्रहरीको भनाइ छ ।

अहिले सामाजिक सञ्जालमा ‘बच्चा चोर’को अनावश्यक हल्ला फिँजाइएकाले बालबालिकामा समेत यसको नकारात्मक प्रभाव परेको छ । “बच्चा चोरको हल्लाले मेरो छोरा विद्यालयबाट आउँदा हिजो निकै डराए । म घर बाहिर भएकाले एक्कासी रुँदै फोन ग¥यो”, सञ्चारकर्मी अस्मिना पाण्डे भन्छिन्, बाबु निकै डराएको रहेछ, पछि फोनमा धेरै बेर सम्झाएँ ।”

बच्चा चोरको हल्लाले बालबालिका विद्यालय जानसमेत डर मान्ने गरेका छन् । सामाजिक सञ्जालको हल्लाले बालबालिकामा मानसिक असर गर्ने भएकाले अभिभावकहरू सचेत हुनुपर्ने मनोविमर्शकर्ता सुष्मा अर्याल बताउँछिन् । यो समयमा एकातिर अभिभावक पनि त्रसित हुने र बालबालिकालाई सचेत गराउन खोज्दा नकारात्मक असर पर्न जाने भएकाले यसमा घरपरिवार, समाज सबै सचेत बन्नुपर्र्नेे उनको भनाइ छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले समेत विज्ञप्ति जारी गर्दै बच्चा चोरीको सामाजिक सञ्जालमा फैलाइएको प्रचार भ्रामक भएको जानकारी गराएको छ । तर यस्ता भ्रामक सूचना र दृश्यले समाजमा त्रास उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सामाजिक सञ्जालमा उल्लेख भएको बच्चा चोरको हल्ला गलत भएको जनाएको छ । 

अहिलेसम्म कुनै पनि यस्ता घटनाका सम्बन्धमा उजुरी तथा निवेदन नपरेको र त्यस्तो कुनै पनि प्रकारको गतिविधि भएको नपाइएकाले हल्ला र अफवाहको पछि नलाग्न प्रहरीको अनुरोध छ । 

बुटवल उपमहानगरपालिका कार्यालयले विगत केही दिनदेखि सामाजिक सञ्जालमा व्यापकरूपमा फैलाइएको विद्यार्थी अपहरणसम्बन्धी दिग्भ्रमित गराउने खालका झुटा प्रचारलाई आधार मानी केही विद्यालयले समेत सूचना प्रकाशित गरेको हुँदा यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै सामाजिक सञ्जालमा उल्लेख भएझै उपमहानगरपालिकामा कुनै घटना जानकारीमा नआएको हुँदा त्यस्ता भ्रामक सूचना, तस्वीर र भिडियोको पछाडि नलाग्न सबैमा अनुरोध गरेको छ ।

त्यस्ता अपराधसम्बन्धी सूचना प्राप्त भएमा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा यस उपमहानगरपालिकामा जानकारी गराउनुहुनसमेत उपमहानगरले अनुरोध गरेको छ ।

यतिमात्रै होइन यस उपमहानगरपालिकाअन्तर्गतका विद्यालयले स्पष्ट आधार, प्रमाण र अनुमतिबिना अभिभावक तथा विद्यार्थीलाई दिग्भ्रमित गराउने सूचना सम्प्रेषण गरेको पाइएमा कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । 
त्यसो त प्रहरीका विभिन्न एकाइले पनि सूचनामार्फत गलत हल्लाका पछि नलाग्न अनुरोध गरेको छ । तर सामाजिक सञ्जालमा भ्रामक दृश्य राखेर सेयर गर्ने क्रम रोकिएको छैन । बच्चा चोरी भयो भनेर अभिनयसमेत गरेर सामाजिक सञ्जालमा राख्न थालेपछि प्रहरीले यस्ता गलत सूचना दिने सामग्री नराख्न र राखेको पाइएमा कारबाही गर्ने जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्