
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बुधवार पनि महाभियोग सिफारिस समितिको बैठक बोलाइएको छ । समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकमा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बिहान ९ बजे समितिको बैठक पुनः बोलाइएको हो ।
जबरासँगको प्रश्नोत्तरसहितको बयान लिने काम सकिएकाले पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बोलाउने निर्णय गरिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पूरक प्रश्नका विषयमा चाहिँ अहिलेसम्म बयानका क्रममा उहाँले उल्लेख गर्नु भएको कुराहरुलाई रेकर्डमा उतार्छाैं । त्यसको आधारमा पूरक प्रश्नका लागि उहाँलाई बोलाउने भन्ने कुरा भएको छ । र, भोलि बिहान ९ बजे समितिको बैठक छ । सो बैठकले यस विषयमा थप स्पष्ट पार्छ ।’
प्रवक्ता गौतमका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराले बयानको क्रममा आरोप लगाएका व्यक्तिहरुलाई पनि आवश्यक्ताअनुसार बयान लिने समितिको योजना छ ।