
बैतडीमा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् ।
जिल्ला अस्पतालमा मात्रै साउनयता १४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।
जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो ।
परीक्षण नगराएका व्यक्तिमा समेत डेंगु र स्क्रब टाइफसको संक्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेंगु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । डेंगु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै संक्रमण बारेमा जानकारी हुने उनको भनाइ छ ।
अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले बताए । उनले भने, ‘केही संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।’
पछिल्लो समय दिनप्रतिदिन यहाँ डेंगु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेंगु र स्क्रब टाइफस समेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।