
राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको शिष्टाचार भेटवार्ता राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुरू भएको छ ।
राष्ट्रपति भण्डारीसँग आज अपराह्न ४ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता सुरु भएको हो ।
यसैगरी आज बिहान साढे ९ बजे चिनियाँ नेता ली नेतृत्वको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरूको अवलोकन र निरीक्षण गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् ।
भ्रमणको पहिलो दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन निरन्तरताका लागि फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।