
धरानमा सुन र नगद लुटेर एक बृद्ध महिलाको हत्या भएको छ । धरान उपमहानगरपालिका–२० की ६५ वर्षीय पूर्णिमाया राईको हत्या भएको प्रहरीले जनाएको छ ।
महिलाको बुधबार दिउँसो शव फेला परेको हो । पूर्णिमाया घरमा एक्लै बस्दै आएकी थिइन् । उनको शव मृत अवस्था घरमै फेला परेको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानबाट वृद्ध महिलाको हत्या भएको देखिएको छ,’ एसपी ढकालले भने, ‘घटना विषय अहिले अनुसन्धान भइरहेको छ ।’ घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
हत्या गरिएकी महिलाले घाँटीमा र कानमा सुनका गहना लगाउने गरेको कारण लुटेराहरूले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । उनको शरीरमा लगाएको सुन नभेटिएकाले सुन चोरेर हत्या गरेको प्रहरीको अनुमान छ । शरीरमा चोटपटक समेत देखिएकाले हत्या भएको प्रहरीले जनाएको छ ।
वृद्धा महिलाको चार छोरी र एक छोरा छन् । छोरीहरूको विवाह भइसकेको छ भने छोरा पोखरामा बस्दै आएका छन् । उनका श्रीमानको दुई वर्ष अगाडि नै मृत्यु भइसकेको थियो ।