
नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार चयनका लागि आधार र मापदण्ड तय गरेको छ । कांग्रेस केन्द्रीय संसदीय समितिको बुधबार बसेको बैठकले समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि आधार र मापदण्ड तय गरेको हो ।
जसअनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने निर्णय भएको छ । यस्तै २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन पाउने निर्णय पनि भएको छ ।
यस्तै उम्मदेवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पु-याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइने निर्णय भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उम्मेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उम्मेदवार दिने तय भएको उनको भनाइ छ । ‘उम्मेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ’, कांग्रेसले भनेको छ।