
काठमाडौँको जाउलाखेलमा निर्माण गरिएको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा वन्यजन्तुको बासस्थान साँघुरिएको बताइएको छ । यसैगरी आगन्तुकको भीडले होहल्ला हुँदा वन्यजन्तुलाई असर गर्ने गरेको छ । वन्यजन्तु मैत्री खोर भए पनि ठूला हलको अभावमा समस्या समाधान हुन नसकेको चिडियाखाना प्रशासनले जनाएको छ ।
विसं २०५२ देखि चिडियाखानाको व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) ले गर्दै आएको छ । हाल सदर चिडियाखानामा कूल एक सय १३ प्रजातिका एक हजार एक सयभन्दा बढी वन्यजन्तु राखिएको छ । यी प्रजातिमध्ये ३३ स्तनधारी, ६१ पक्षी, आठ उभयचर र १७ माछा राखिएका छन् । नेपालमा लोप हुन लागेका भनी सुचिकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ प्रजातिलाई चिडियाखानामा संरक्षण गरी प्रदर्शनीमा राखिएको छ ।
चिडियाखानाले अन्य देशका चिडियाखानासँग पशुपक्षी आदानप्रदान कार्यक्रम चलाएर वनमान्छे, अष्ट्रिच, जल गैँडा र बाह्य प्रजातिका पक्षी ल्याएर प्रदर्शनमा राखिएको छ । वन्यजन्तुलाई वातावरण अनुकूल हुने खोर निर्माण गरिएको भए पनि ठाउँ अभावमा ठूला वन्यजन्तुलाई साँघुरो हुँदै गएको चिडियाखाना प्रमुख रचना शाहले बताइन् ।
चिडियाखानामा प्राकृतिक बासस्थान जस्तै नभएपछि कृत्रिम वातावरण निर्माण गरेर वन्यजन्तुको व्यवस्थापन भइरहेको प्रमुख शाहले जानकारी दिइन् । चिडियाखानाका वन्यजन्तुलाई नियमितरुपमा दिइने पोषण तथा खाना भने अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै दिइने गरेको चिडियाखाना प्रशासनले जनाएको छ ।