२८ जेठ २०८३, बिहीबार
बलात्कार अभियाेग

वेस्ट इण्डिजबाट नेपाल हिँडेका सन्दीप लामिछाने अहिले कहाँ छन् ?

भदौ ३०, २०७९
वेस्ट इण्डिजबाट नेपाल हिँडेका सन्दीप लामिछाने अहिले कहाँ छन् ?

१७ वर्षीया नाबालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछाने अहिले कहाँ छन् ? अहिले हरेकजसोले गर्ने प्रश्न यहीँ हो ।

भदौ २३ गते उनीविरूद्ध जिल्ला अदालत काठमाडौंबाट बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । 

उनलाई भदौ ५ गते १७ वर्षीय किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ । ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।

भदौ ६ गते बिहान होटलबाट निस्किएर टी–२० क्रिकेट खेल्नको लागी सन्दीप ७ गते राष्ट्रिय टिममा केन्या गएका थिए । 

केन्यामा खेल सकिएपछि उनी क्यारेबियन लिग खेल्न वेस्ट इण्डिज गएका थिए । खेल खेल्न नपाउँदै काठमाडौंमा बलात्कार आरोपमा उजुरी दर्ता भएपछि उनी त्यहाँबाट हिँडेका थिए । भदौ २६ गते वेस्ट इण्डिज छाडेका सन्दीप अहिले कहाँ छन् ? अहिलेसम्म उनी किन नेपाल आइपुगेनन् ? सबैतिर यस्तै प्रश्न उठ्ने गरेका छन् । 

सोसल मिडियामा कतिपयले त यसअघि उनी विभिन्न देशमा क्रिकेट खेलेर नेपाल फर्कदा विमानस्थलमा भएको स्वागतको भिडियो राखेर पनि सन्दीप नेपाल आएको चर्चा गरिरहेका छन् । तर, त्यो सत्य भने होइन । सन्दीप अहिलेसम्म नेपाल आइसकेका छैनन् । 

नेपालमा उजुरी दर्ता भएको थाहा पाएपछि उनले सोसल मिडिया फेसबुकमार्फत खेल छाडेर नेपाल आउने र नेपालको कानूनलाई मान्ने बताएका थिए । 

बलात्कार आरोप लागेको २ दिनपछि उनले क्रिकेट एसोसियसन नेपाल (क्यान)मा सम्पर्क गरेर आफू नेपाल फर्किन लागेको र कानूनी लडाइँ लड्नका लागि कानून सहयोग उपलब्ध गराउनसमेत भनेका थिए । तर, त्यसयता  भने उनी क्यानको सम्पर्कमा छैनन् ।

यता प्रहरीले पनि उनको खोजी गरिरहेको छ । सन्दीप कहाँ छन् भन्ने विषयमा स्पष्ट जानकारी नभएको प्रहरीको दाबी छ । 

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले सन्दीप कहाँ छन् भन्ने जानकारी नभएकाले उनको खोजी भइरहेको बताए । ‘सन्दीप लामिछाने कहाँ छन् भन्ने थाहा छैन्  हामीले पनि खोजिरहेका छौँ,’ एसपी मैनालीले भने ।

सन्दीप विदेशमा रहेको र नेपाल आउने बित्तिकै पक्राउ पर्ने मैनाली बताउँछन् । उनी नेपाल नआएको खण्डमा पक्राउ गरेर ल्याउने विभिन्न माध्यम भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले भने सन्दीपको बारेमा अनुसन्धान भइरहेकाले आफू बोल्न नमिल्ने बताए । ‘यो अनुसन्धानको विषय हो । बोल्न मिल्दैन,’ कार्कीले लोकान्तरसँग भने । 

सन्दीपले क्यानलाई आफू निर्दोष रहेको र कानूनी लडाइँ लड्ने भनेको ५ दिनभन्दा धेरै भइसकेको छ । 

सन्दीपनिकट स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार, उनी कानूनी लडाइँ कसरी लड्ने भन्ने बारेमा कानून व्यवसायीसँग परामर्श गरिरहेका छन् । अहिले उनी युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा रहेर कानून व्यवसायीसँग सम्पर्कमा छन् ।

उनी त्यहाँबाट घरपरिवारलाई कसरी व्यवस्थापन गर्ने र कानूनी लडाइँ कसरी लड्ने भन्ने विषयमा कानून व्यवसायीको परामर्श लिइरहेका छन् । 

अहिले सामाजिक सञ्जालहरूमा भने सन्दीप लामिछानेको पक्ष र विपक्षमा तर्कहरू प्रस्तुत भइरहेका छन् ।

प्रहरीले कसरी ल्याउन सक्छ नेपाल ?

सन्दीप लामिछाने नेपाल नआई विदेशमै रहन चाहेको अवस्थामा प्रहरीले इन्टरपोलबाट सजिलै नेपाल ल्याउन सक्ने अवस्था छैन । 

कानूनी प्रक्रिया पुर्‍याएर ल्याउनुपर्ने भएकाले तत्कालै ल्याउने अवस्था नदेखिएको प्रहरी अधिकारीहरू बताउँछन् । 

इन्टरपोलले सामान्यतया जघन्य अपराधमा संलग्न व्यक्तिहरूका लागि ‘रेड कर्नर नोटिस’ जारी गर्न अनुमति दिन्छ । प्रहरी अधिकारीहरूका अनुसार, संगठित अपराध, लागुऔषधको अन्तर्राष्ट्रिय गतिविधि, अन्तर्राष्ट्रिय अपराधिक संगठन, आतकंवाद, हत्यालगायतका अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्नका लागि रेड कर्नर नोटिस जारी गर्ने गरेको छ । 

प्रहरीले सन्दीपका लागि रेडकर्नर नोटिसमा नाम राखेर पक्राउ गर्न पहिला ‘डिफ्युजन नोटिस’ जारी गर्नुपर्छ । त्यसपछि, मात्र ‘रेड कर्नर नोटिस’ जारी गर्नुपर्छ । त्यसका लागि नेपाल प्रहरीले गरेको अनुरोध इन्टरपोल हेड अफिसले मुनासिव देखेमा मात्र रेड कर्नर नोटिस जारी गर्न अनुमति दिन्छ । 

‘रेडकर्नर नोटिस जारी गर्दा यथेष्ट प्रमाणहरु दिनुपर्छ, त्यसको इन्क्वाइरी इन्टरपोल हेडक्वाटरले पनि गर्छ । त्यसपछि मात्रै, रेड कर्नर नोटिस जारी हुन्छ’, एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।
यी सबै प्रक्रियाका लागि उनी फरार हुनुपर्छ । अहिले प्रहरीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान गरिरहेको छ । उनी दोषी हुन् वा होइनन् भन्ने कुरा अदालतले पुष्टि गरिसकेको छैन । 

यसरी, इन्टरपोलमार्फत नोटिस जारी गरेर सन्दीपलाई नेपाल ल्याउन प्रहरीलाई त्यति सजिलो छैन ।

अर्कोतर्फ, सन्दीप आफै नेपाल आउँछु भनिरहेका छन् । कानूनका जानकारहरू जति ढिलो गर्‍यो त्यति नै बढी उनलाई अप्ठ्यारो पर्ने बताउँछन् । 

सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस

सन्दीपमाथि बलात्कार अभियोग लागेपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्क–वितर्क भइरहेका छन् । 

गायक शिव परियारले पछिल्लो समयमा बलात्कारको विषयमा अरूलाई तारो बनाउन ‘पेशेवर पीडित’हरू सक्रिय रहेको टिप्पणी गरेका छन् ।

उनले बलात्कारको सम्बन्धमा नेपालका कानून केही संशोधन हुनुपर्ने तर्क गरेका छन् । 

गायिका रीमा विश्वकर्माले पनि राज्यलाई योगदान गरेको मान्छेलाई दोषी ठहर नहुँदै कालोसूचीमा राख्नु गलत भएको टिप्पणी गरेकी छन् ।  । 

‘आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको खेलाडीलाई  कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ ?’, रीमाले प्रश्न गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्