
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार पूरक प्रश्न सोध्ने भएको छ । बिहीबार बसेको बैठकले समितिको बैठकले चोलेन्द्रलाई शुक्रबार पूरक प्रश्न सोध्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।
बिहीबार महाअभियोग सिफारिस समितिले जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि उनीहरुसँग छलफल गरेको छ । समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत उपस्थित थिए ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरूलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरूलाई बोलाउने भनिएपनि न्यायाधीशहरूले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरू भने समितिमा गएका हुन् ।
समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरूले आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए । चोलेन्द्रसँग यसअघि समितिले ४३ प्रश्नमा बयान लिएको थियो ।