२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

लालपुर्जा वितरण गर्न आयोगले रोक लगायो, सन्दीप लामिछानेलाई खोज्दै प्रहरी

लालपुर्जा वितरण गर्न आयोगले रोक लगायो, सन्दीप लामिछानेलाई खोज्दै प्रहरी

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार पूरक प्रश्न सोध्ने भएको छ । बिहीबार बसेको बैठकले समितिको बैठकले चोलेन्द्रलाई शुक्रबार पूरक प्रश्न सोध्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । 

बिहीबार महाअभियोग सिफारिस समितिले जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि उनीहरुसँग छलफल गरेको छ ।  समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत उपस्थित थिए ।
००००
निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु स्थगित गर्न निर्देशन दिएको छ । यस्तै नेपाल सरकार, प्रदेश सरकार, तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन पनि आयोगको निर्देशन दिएको छ ।  

आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमहरू सार्वजनिक भइसकेको सन्दर्भमा यस्तो निर्देशन दिइएको उल्लेख छ । आयोगले निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरण सम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।
००००
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले खोजी गरिरहेको छ । सन्दीप कहाँ छन् भन्ने विषयमा स्पष्ट जानकारी नभएको प्रहरीको दाबी छ । 
काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सन्दीप कहाँ छन् भन्ने जानकारी नभएकाले उनको खोजी भइरहेको बताए । ‘सन्दीप लामिछाने कहाँ छन् भन्ने थाहा छैन्  हामीले पनि खोजिरहेका छौँ,’ एसपी मैनालीले भने ।

सन्दीप विदेशमा रहेको र नेपाल आउने बित्तिकै पक्राउ पर्ने मैनालीले बताए । उनी नेपाल नआएको खण्डमा पक्राउ गरेर ल्याउने विभिन्न माध्यम भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
सन्दीपनिकट स्रोतले दिएको जानकारी अनुसार, उनी कानूनी लडाइँ कसरी लड्ने भन्ने बारेमा कानून व्यवसायीसँग परामर्श गरिरहेका छन् । अहिले उनी युनाइटेड अरब इमिरेट्सको दुबईमा रहेर कानून व्यवसायीसँग सम्पर्कमा छन् ।
००००
नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउने जिम्मा सह–महामन्त्रीहरूलाई दिएको छ । पार्टीको महाधिवेशनमा समावेशिताको आधारमा विभिन्न क्लष्टरबाट चुनिएका सह महामन्त्रीहरूलाई आफ्नो क्लष्टरको उम्मेदवार छान्ने जिम्मा दिइएको हो ।
००००
वीर अस्पतालले घरबहाल करको रकम काठमाडौं महानगरपालिकालाई तिर्ने भएको छ । यसअघि केन्द्र सरकारलाई कर तिर्दै आएको अस्पतालले चालु आर्थिक वर्षको साउन १ गतेदेखि महानगरपालिकालाई तिर्ने भएको हो । 
००००
जग्गाको कित्ता काट रोकिए कारण नागरिकलाई समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिका खोल्ने तयारीमा जुटेको छ । उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले जग्गाको कित्ता काट रोकिएका कारण जनता मारमा परेका कारण खोल्ने तयारीमा जुटेको बताए ।
००००
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण प्रारम्भ गर्ने भएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।
००००
माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले रु ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कूल लागत रु दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ । आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा बिहीबार साँझ हस्ताक्षर भएको छ ।
००००
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू भएको । विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवारदेखि एमडीएमएस कार्यान्वयन गरेको हो ।
००००
नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् ।  चार दिने औपचारिक भ्रमण सकेर उनी बिहीबार बिहान स्वदेश फर्किएका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले सकड पेटीमा व्यापार गर्न नदिएपछि महानगरपालिकाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ । नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौंको भृकुटी मण्डपबाट विरोर्ध याली शुरू गरेको र काठमाडौं महानगरपालिका कार्यालय अगाडी पीडितहरूले धर्ना दिने बताएका छन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्  । बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए ।
००००
वाणिज्य बैैंकहरूले दशैंको महिना लागेपछि अर्थात असोजबाट ब्याजदर बढाउने भएका छन् । हाल बैंकहरूले दिइरहेको भन्दा डेढ प्रतिशत विन्दूसम्मले ब्याजदर बढ्ने भएको छ । बिहीवार बसेको नेपाल बैंकर्स संघको बैठकले बैंकहरूलाई ब्याजदर बढाउन दिने निर्णय गरेको छ ।
००००
नेपाली सेनाले पुरानो पृतनालाई ब्युँताउने भएको छ । भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले पृतना संरचनालाई ब्युँताउने निर्णय गरेको हो ।
००००
परराष्ट्र मन्त्रालयले दशैं अघि नै चिनियाँ नाका पूर्णरूपमा सञ्चालनमा आउने बताएको छ । बिहीवार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता सेवा लम्सालले अहिले बन्द रहेको उत्तरी नाका दशैं अघि नै पूर्ण सञ्चालनमा आउने बताएकी हुन् ।
००००
विदेशी मुद्राको सञ्चिति घटेको भए पनि आयात धान्ने क्षमता भने बढेर ८ महिनासम्म पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार डलर सञ्चिति १.५ प्रतिशतले घटेको छ ।
००००
राष्ट्रिय सभा बैठकले तीनवटा विधेयक पारित गरेको छ । बिहीवार दुई चरणमा बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तीनवटा विधेयक पारित गरेको हो । 
पारित भएका विधेयकहरुमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक २०७६, बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ रहेका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यी विधेयकहरू पारित भएको घोषणा गरे ।

salt training

कमेन्ट गर्नुहोस्