२५ जेठ २०८३, सोमबार

जजिराको भैरहवा–कुवेत दैनिक उडान शुरू

जजिराको भैरहवा–कुवेत दैनिक उडान शुरू

हालै सञ्चालनमा आएको रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले दैनिक उडान शुरू गरेको छ । विमानस्थल उद्घाटनसँगै पहिलो अन्तर्राष्ट्रिय उडान थालेको एयर जजिराले शुक्रवारदेखि आफ्नो उडान भैरहवाबाट दैनिक बनाएको हो । विमानस्थल गत जेठ २ गतेबाट सञ्चालनमा आएको थियो ।

एयरलाइन्सले कुवेत–भैरहवा सातामा सोमवार, बुधवार र शनिवार गरी तीनवटा उडान भर्दै आएको थियो । जजिरा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको एकमात्र अन्तर्राष्ट्रिय एयरलाइन्स हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रवारदेखि जजिरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको बताए । 

उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुबेत–भैरहवाबीच ११० वटा उडान गरेको छ । उडान हुँदै कुवेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५८७ जना हवाइ यात्रु आएका छन् । भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २४० जना यात्रु बाहिरिएका छन् । 

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० निओ’ विमानले कुवेत–भैरहवाबीच हवाई उडान भर्दै आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्दा विभिन्न छुट र सहुलियत दिएका कारण जजिरा एयरलाइन्सबाट काठमाडौं– कुवेत भन्दा भैरहवाबाट भाडादर पनि धेरै सस्तो छ ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पूर्वमा वीरगञ्जसम्मका हवाई यात्रुले कुवेतको हवाई यात्रा भैरहवाबाट गर्ने गरेका छन् । हंगेरीको वायु सेवा कम्पनी विज एयरले पनि आउँदो अक्टोबर ३० देखि यूएईको अवुधाबी–भैरहवा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्