२२ जेठ २०८३, शुक्रबार

‘कालजयी नेपाली कविता’ प्रकाशित

‘कालजयी नेपाली कविता’ प्रकाशित

कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् ।

सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विक्रम संवत् १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ । 

बीपी कोइराला नेपाल भारत फाउन्डेसनद्वारा प्रकाशित कृतिमा यस अवधिका १०१ कविहरूका १/१ वटा कालजयी कविता संग्रहीत छन् । सम्पादक क्षेत्रीका अनुसार निकट भविष्यमै कृतिलाई हिन्दी र अंग्रेजी भाषामा अनुवाद गरेर प्रकाशन गरिनेछ ।

नेपाली कविता परम्परामा प्रत्येक कालखण्डका केही कविता भाषा, शैली, शिल्प र समयसापेक्ष जस्ता विशिष्ट गुण भएका पाइएको सम्पादक क्षेत्रीले बताए । उनका अनुसार समयसीमामा नबाँधिई अमरत्व प्राप्त गरेका कालजयी कविताहरू एकैठाउँमा संकलन हुन सकेको थिएन । 

विशेषगरी नेपाली कविताको विभिन्न मोड, आयाम र प्रवृत्तिलाई समाविष्ट गर्न नसकिएको अवस्थामा यो संकलन नेपाली साहित्यका गम्भीर पाठक, अध्येता र शोधकर्ताका लागि निकै उपयोगी, पठनीय र संग्रहणीय हुने विश्वास फाउन्डेसनले लिएको छ । 

प्रथम कवि सुवानन्द दास, यदुनाथ पोखर्याल, भानुभक्त आचार्य, ज्ञान दिलदास, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, माधवप्रसाद घिमिरे, मोहन कोइराला, भूपि शेरचन, हरिभक्त कटुवाल, पारिजात, ईश्वर वल्लभ, वैरागी काइँला, तुलसी दिवस, वानिरा गिरि, कुन्ता शर्मा, कृष्णभुषण बल, विष्णुविभु घिमिरे, सरूभक्त, कृष्ण सेन इच्छुक, दिनेश अधिकारी, दुबसु क्षेत्री, श्रवण मुकारुङ आदिका बहुचर्चित कविताहरू संकलित प्रस्तुत संग्रह नेपाली कविताको इतिहासमा कोसेढुंगा सावित हुने विश्वास प्रकाशकले लिएको छ । 

‘यो संकलन जातीय, भाषिक, लैंगिक र वर्गीय दृष्टिकोणले कुनै आग्रह वा पूर्वाग्रहबाट ग्रसित छैन,’ सम्पादक क्षेत्रीले भने, ‘लेखनकै चिरन्तन र अमरतामा आधारित भएर कविता संकलन गरिएको यो कृति समग्र नेपाली कविताको प्रतिनिधि र कालजयी संकलन बनेको विश्वास लिएको छु ।’

salt training

कमेन्ट गर्नुहोस्