०२ साउन २०८३, शनिबार
प्रतिनिधिसभा निर्वाचन

एमालेभित्र उम्मेदवार चयन : 'जित्ने' ठाउँमा मारामार, 'हार्ने' ठाउँमा टिकट फालाफाल

असोज ४, २०७९
एमालेभित्र उम्मेदवार चयन : 'जित्ने' ठाउँमा मारामार, 'हार्ने' ठाउँमा टिकट फालाफाल

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार छनौटमा दलहरूभित्र मारामार छ । टिकट सुनिश्चित गर्नका लागि जिल्लाबाट काठमाडौंसम्म राजनीतिक म्याराथन चलिरहेको छ ।

दलका शीर्ष नेताका घरमा झिसमिसेदेखि राति अबेरसम्म गुल्जार बनिरहेका छन् । टिकट फुत्काउनका लागि सम्भाव्य सबै उपाय अहिले आकांक्षीहरूले गरिरहेका छन् । 

असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारले मनोनयन दर्ता गर्ने समय निर्वाचन आयोगले तोकेको छ ।

मुख्य दलहरूमा आकांक्षीको लर्को लागिरहेको बेला यसपटक नेकपा एमालेलाई भने केही जिल्लामा उम्मेदवार खोज्नुपर्ने बाध्यता आइपरेको छ । 

गत शनिवार कार्यकाल सकिएको संसद्मा सबैभन्दा ठूलो दल रहेको नेकपा एमालेलाई केही जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभाका लागि नेताहरूलाई फकाएर उम्मेदवार बनाउनुपर्ने अवस्था आइपरेको हो ।

नेकपा एमालेविरुद्ध ५ दलीय गठबन्धनले चुनावी तालमेल गरेको, स्थानीय तहको निर्वाचनमा गतिलो नतिजा निकाल्न नसकेको र  आफ्नो निर्वाचन क्षेत्रमा जीत अनुकूलको परिस्थिति नदेखेपछि केही जिल्लामा टिकटको बलियो दाबेदारी नआएको एमालेका केही नेताहरूले बताएका छन् ।

बाग्मती प्रदेशको रसुवा जिल्लामा एमालेमा टिकटका लागि कसैले बलियो दाबेदारी गरेको छैनन् । जिल्ला कमिटीले प्रतिनिधि सभाका लागि ३ जनाको नाम सिफारिश त गरेको छ, तर उनीहरू आफूलाई टिकट दिनुहोस् भनेर लबिङमा छैनन् ।

जिल्लामा एमालेको राजनीति गरिरहेका कारण निर्वाचनका लागि नाम सिफारिश गर्नुपर्ने बाध्यात्मक अवस्थामा सिफारिश भएको तर, चुनावमा उम्मेदवार बन्ने रूचि कसैमा नदेखिएको रसुवाको एमाले जिल्ला कमिटीका एक सदस्यले बताए । 

‘रसुवाबाट तीन जनाको नाम प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिश भएको छ । तर, कसैले पनि टिकटका लागि लबिङ गरेका छैनन् । सकेसम्म आफ्नो नाममा टिकट नआओस् भन्ने पक्षमा उहाँहरू हुनुहुन्छ’, जिल्ला कमिटीका ती सदस्यले भने ।

रसुवा एमालेले यसअघि दुईपटक उम्मेदवार बनेका जनार्दन ढकाल, छोवाङतेञ्जिङ तामाङ र उद्धव रिजालको नाम प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिश गरेको छ ।

ढलका यसअघि २०७४ र २०७० को चुनावमा उम्मेदवार बनेका थिए । उनले २०७० मा चुनाव जितेका थिए भने २०७४ मा हारेका थिए । अघिल्लो चुनावमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदा समेत हार्नुपरेको र अहिले एमाले अन्य दलको घेराबन्दीमा रहेको अवस्थामा उनले टिकटका लागि पहल नगरेको रसुवाका नेताहरू बताउँछन् । 

रसुवाबाट एमालेका केन्द्रीय सदस्य रहेका माधवप्रसाद अर्याल स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् । एमालेले बनाएको मापदण्डअनुसार, उनी प्रदेश र प्रतिनिधि सभाको उम्मेदवार बन्न पाउँदैनन् ।

जिल्ला अध्यक्ष कर्णेल तामाङ भने पार्टीले तीन जनाको नाम सिफारिश गरेर पठाएकाले केन्द्रले जसलाई टिकट दिन्छ उसैलाई आधिकारिक उम्मेदवार मानेर जिताउन लाग्ने बताउँछन् ।

‘हामीले उम्मेदवार सिफारिश गरेर पठाएका छौं । अब केन्द्रले कसलाई टिकट दिन्छ, उही व्यक्ति हाम्रो उम्मेदवार हो । उम्मेदवार नै नपाएको होइन’, तामाङले भने । 

स्थानीय चुनावमा रसुवामा एमालेले दुईवटा स्थानीय तहको प्रमुख जितेको छ । पाँच स्थानीय तहमध्ये ३ वटामा कांग्रेसले जितेको छ । उत्तरगया र गोसाइँकुण्ड गाउँपालिका एमालेले जितेको हो ।

स्थानीय तहको चुनावको मत हेर्ने हो भने रसुवामा कांग्रेस पहिलो पार्टी हो । कांग्रेसले ११ हजार ८३९ मत पाउँदा एमालेले ११ हजार ४०, माओवादी केन्द्रले ४ हजार ३९२, जसपाले ५६८ मत पाएका छन् । अहिलेको चुनावमा सत्तारूढ गठबन्धनले तालमेलको निर्णय गरेका छन् । कांग्रेस र माओवादी मिल्दा १५ हजार ७४१ मत हुन्छ । प्रतिनिधि सभाका लागि रसुवामा एउटा मात्रै निर्वाचन क्षेत्र छ । 

उम्मेदवार सिफारिश भएका जनार्दन ढकालले यस पटकको चुनावमा आफू उम्मेदवार नबन्ने बताइरहेको उनीनिकट रसुवाका एक नेताले बताए । 

‘अघिल्लो चुनावमै प्रशस्त खर्च भइसकेको छ । त्यसबेला दुई कम्युनिस्ट पार्टीको गठबन्धन हुँदा पनि चुनाव जित्ने अवस्था बनेन । अहिले झन् अनुकूल अवस्था छैन भन्ने विश्लेषण उहाँको हुनसक्छ । पटक–पटक खर्च गरिरहन पनि समस्या हुने भएकाले होला’, ढकालनिकट ती नेताले भने ।

तर, ढकालले भने पार्टीले चुनाव लड्नुपर्छ भन्यो भने आफू पछि नहट्ने बताए । ‘मैले पार्टीमा अरूलाई पनि अवसर दिनुपर्छ । एकै व्यक्तिले मात्रै अवसर लिनु हुँदैन भनेको हुँ । पार्टीले मलाई नै दौडनुपर्छ भन्यो भने चुप लागेर बस्ने अवस्था आउँदैन’, ढकालले भने ।

रसुवामा मात्रै होइन, गोरखामा पनि एमालेले उत्साहप्रदरूपमा टिकट दाबी गरिरहेको उम्मेदवार पाउन सकेको छैन । प्रतिनिधि सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा एमाले कमजोर छ । ११ वटा स्थानीय तह रहेको गोरखामा एमालेले कुनै पनि स्थानीय तह जितेको छैन । 

स्थानीय तह चुनावको मतको हिसाब गर्दा गोरखा– १ मा एमाले तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको कांग्रेसले २७ हजार ८४ मत पाएको छ । माओवादी केन्द्र २५ हजार ४७२ मतसहित दोस्रो र एमाले १४ हजार ५६६ मत पाएर तेस्रो स्थानमा छ । त्यसैगरी, जसपाले २ हजार ७५४ मत पाएको थियो । 

एमालेले जितको अपेक्षा नगरेको जिल्लामध्ये हो, गोरखा । गोरखामा माओवादी केन्द्रले चुनाव जित्दै आएको छ । माओवादी केन्द्रको प्रभाव रहेको गोरखामा क्षेत्र नम्बर– १ बाट हरिराज अधिकारीले चुनाव जितेका थिए भने गोरखा–२ बाट तत्कालीन नयाँ शक्तिका डा. बाबुराम भट्टराईले चुनाव जितेका थिए ।

यसपटक पनि गोरखा–२ बाट भट्टराई उम्मेदवार बन्ने भएका छन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने भएपछि उनलाई चुनाव जित्न थप सहज हुने देखिन्छ । 

गोरखा– २ मा स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी हो । उसले २२ हजार २५० मत ल्याएको छ । त्यसैगरी, कांग्रेसले २१ हजार १३६, एमालेले ७ हजार ९२६, जसपाले ७ हजार ५०४ मत पाएका थिए ।

चुनाव जित्ने आधार नदेखेपछि गोरखामा पनि एमालेलाई उम्मेदवार तय गर्न कठिन छ । आफ्नो पार्टीको मतको सम्मान गर्न र समानुपातिक मतको सुरक्षा गर्नका लागि मात्रै गोरखामा एमालेले उम्मेदवार तय गर्ने एमालेका नेताहरू बताउँछन् । 

गोरखाको दुवै क्षेत्रबाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस भएका छन् । तर, सिफारिश भएका मध्ये कसैले पनि टिकटका लागि लबिङ गरेका छैनन् । 

गोरखा क्षेत्र नम्बर– २ बाट मिलन गुरूङ (चक्रे) सहित तीनजनाको नाम सिफारिश भएको छ । उनीसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम उम्मेदवारको रूपमा सिफारिश भएको हो । 

चक्रे मिलनको नामले चिनिने मिलन गुरूङ विवादास्पद गतिविधिमा संलग्न छन् । उनले गुण्डा नाइकेको पहिचान बनाएका छन् । गोरखा– २ मा देवकोटा र कुमालले टिकटका लागि खासै चासो नराखेको र एमालेले आगामी चुनावमा चक्रे मिलनलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् ।

गोरखा क्षेत्र नम्बर– १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एमाले जिल्ला कमिटीले रामशरण बस्नेत, आरसी लामिछाने र कृष्ण नेपालीको नाम सिफारिश गरेको छ । बस्नेत भने गण्डकी प्रदेशको मन्त्री भइसकेका व्यक्ति हुन् । २०७४ को चुनावमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका कारण बस्नेतले प्रदेशमा चुनाव जितेका थिए ।

एमालेलाई उम्मेदवार तय गर्न कठिन भएको अर्को जिल्ला हो रोल्पा । माओवादी केन्द्रको आधार इलाकाको रूपमा चिनिने रोल्पाबाट एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पूर्णबहादुर बुढा मगरको नाम सिफारिश गरेको छ । उनी पूर्व माओवादी हुन् । रोल्पाबाट यसपटक एमालेले सिफारिश गरेका अधिकांश उम्मेदवार पूर्व माओवादी पृष्ठभूमिका छन् । 

प्रतिनिधि सभाको समानुपातिकतर्फ नवीन रोकामगर, कुमार दशौदी, ईश्वरी जीएम, रिमा नेपाली र मिना बुढामगरको नाम सिफारिश भएको थियो । रोकामगर पनि पूर्व माओवादी हुन् ।

एमालेले पूर्व माओवादी पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवारको रूपमा सिफारिश गरेर माओवादी केन्द्रको मत तान्ने प्रयास गरेको देखिन्छ । 

प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र–१ (१) मा जयप्रकाश बुढामगर र १ (२) बाट प्रेमबहादुर घर्तीमगरको नाम सिफारिश भएको थियो । बुढा मगर पनि पूर्व माओवादी हुन् । 

प्रदेश सभाको समानुपातिकतर्फ यमुना रोका तामाङ, सावित्रा कुमारी बुढा (घर्ती), राजेन्द्र बुढाथोकी र ओमराज घर्तीमगर सिफारिश भएका थिए । यमुना रोका तामाङ पनि पूर्व माओवादी हुन् ।

रोल्पामा स्थानीय तहको मत हेर्दा माओवादी केन्द्र पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो स्थानमा छ । स्थानीय तहको चुनावमा माओवादीले ४० हजार ७९१, कांग्रेसले २४ हजार ६६४ र एमालेले १५ हजार ३०१ मत प्राप्त गरेका थिए । रोल्पामा एउटा मात्रै स्थानीय तह एमालेले जितेको छ । 

माओवादी र कांग्रेस मिल्दा एमाले मतका हिसाबाले निकै पछाडि हुने देखिन्छ । त्यसो हुँदा रोल्पामा पनि आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै एमालेले उम्मेदवार उठाउनुपर्ने छ । त्यसका लागि स्थानीय नेताहरूलाई भविष्यको आश्वासन देखाएर उम्मेदवार बनाउनुपर्ने बाध्यतामा एमाले छ ।

त्यस्तै, समस्या रूकुम पूर्व र पश्चिममा पनि छ । ती जिल्ला पनि माओवादी आधार इलाकाको रुपमा चिनिन्छन् । रूकुमपूर्व र पश्चिम दुवै ठाउँमा एमाले तेस्रो शक्ति हो । दुवै ठाउँमा एमालेले कुनै पनि स्थानीय तह जितेको छैन । रोल्पा र रूकुममा २०६४ यताका सबै चुनाव माओवादी केन्द्रले नै जित्दै आएको छ । त्यसअघि रोल्पामा संयुक्त जनमोर्चाले चुनाव जित्ने गरेको थियो । 

माओवादी केन्द्रको प्रभाव रहेका निर्वाचन क्षेत्रमा मात्रै होइन, अन्यत्र पनि एमालेलाई उम्मेदवार बनाउन कठिन छ । 

कञ्चनपुरको एमाले जिल्ला कमिटीका एक नेता भन्छन्, ‘यहाँका धेरैले समानुपातिकमा समेटिने प्रयास गरेका थिए । समानुपातिकमा परे प्रत्यक्षमा चुनाव नलड्ने, अरूलाई सहयोग गर्ने भनेका छन् । अहिले टिकटको दाबी गर्नेभन्दा छाड्ने धेरै छन् । टिकटको फालाफालजस्तै छ ।’

केही प्राविधिक विषय मिलाउँदा चुनाव जित्ने सम्भावना रहेको जिल्लामा टिकटको लडाइँ चलिरहेको उनले बताए । कञ्चनपुरको ९ स्थानीय तहमध्ये ३ स्थानीय तह मात्रै एमालेले जितेको छ । 

स्थानीय तहको मत हेर्दा कञ्चनपुर– १ मा एमाले अगाडि छ भने २ र ३ निर्वाचन क्षेत्रमा एमाले दोस्रो स्थानमा छ । त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको अवस्थामा एमालेलाई केही राहत मिल्छ । तर, कांग्रेस र माओवादी केन्द्रको मत जोड्दा सबै निर्वाचन क्षेत्रमा एमाले पछाडि देखिन्छ ।

उदयपुरबाट प्रदेश सभामा टिकट दाबी गरिरहेका एमालेका एक नेता भन्छन्, ‘राजनीतिक र सामाजिक दुवै क्षेत्रमा काम गरेको हुँदा चुनाव जित्छु भनेर टिकटको दाबी गरेको हुँ । 

एमालेको मात्रै मतलाई आधार मान्ने हो भने चुनाव जित्ने अवस्था देखिँदैन । उदयपुरमा पनि टिकटको दाबेदारीमा खासै रस्साकस्सी देखिएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्