
संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीवार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपालनिकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’, ‘विद्यादेवी बालकोट जा’ लगायतका नारा लगाएर विरोध गरेका छन् ।
विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताए । उनले बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको बताए ।
नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको शुरु भएको बताइन् । उनले राष्ट्रपतिलाई शीतल निवासमा बस्ने अधिकार नरहेको भन्दै शीतल निवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिइन् । उनले एमाले निर्वाचन विरोधी शक्ति भएको आरोप लगाइन् ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाए । उनले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्नु नमिल्ने बताए । उनले नागरिकताजस्तो संवेदनशील विषयमा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाए ।






