नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुन कानूनका आधारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखिएको भन्दै प्रश्न गरेका छन् । व्यक्ति जो सुकै भए पनि महाभियोग प्रमाणित नभएको प्रधानन्यायाधीशलाई घरमै थुन्ने कुरा मान्न नसकिने उनको भनाइ थियो ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाललाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै ओलीले प्रधानन्यायाधीलाई घरमा नजरबन्द बनाउनु राज्य अराजकताको पराकाष्ठा भएको टिप्पणी गरेका हुन् ।
‘म प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहन्छु, स्वतन्त्र न्यायाधीश हाउस एरेष्टमा ? लोकतन्त्रमा यस्तो पनि सोच्न सकिन्छ ? पञ्चायतमा पनि यति हद हुँदैनथ्यो । यो चानचुने कुरा होइन । प्रधानन्यायाधीशमाथि पर्छ भने अरूमाथि के होला ? कुन आधारमा प्रधानन्यायाधीशको सुरक्षा खोसियो ? मनपरी गर्न पाइन्छ ?’, ओलीले भने, ‘केही महिना गृहमन्त्री बने भन्दैमा जे पनि गर्न पाउँछन् ? बिनापक्राउ–पूर्जी नजरबन्दमा लगाउन पाइन्छ ? इन्टरनेट काट्ने, पानीको पाइप काट्ने । लोकतन्त्रको नाम लिन शरम लाग्दैन ?’
ओलीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग अर्को संसद्ले बोक्न नसक्ने दाबी गरे ।