
धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग सुचारु भएको छ । बिहीवार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करले स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले अवरुद्ध बनाएको राजमार्ग सात घण्टापछि सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
लामो समयसम्म राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट बाहिरिने र काठमाडौं भित्रिने सवारीसाधन बाटैमा रोकिएका थिए । राजमार्गको अवरोध खुलेपछि सवारीसाधनहरू गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा बसले ठक्कर दिएको थियो । घटनापछि स्थानीयले ठक्कर दिने बसमा आगजनी गरेका थिए । घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका थिए ।