
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालिन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन् ।
बिहीवार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालिन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याएका हुन् ।
माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो । पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले माओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए । त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहीँदेखि भएको उनको भनाई छ ।
उनले तत्कालिन विद्रोही माओवादी र सत्तारुढ दलहरूका बिचमा भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको बताए । उनले १२ बुँदे समझदारीको शुरुवात नेपाली राजनीतिक दलहरुले नै गरेको उल्लेख गरे ।