०१ असार २०८३, सोमबार

२० वर्षे सवारी हटाउने व्यवस्था सच्याउन माग

२० वर्षे सवारी हटाउने व्यवस्था सच्याउन माग
सांकेतिक तस्वीर

यातायात क्षेत्रका मजदुरले २० वर्ष गुडेका सवारीको व्यवस्थापनका लागि ल्याइएको कानून अवैज्ञानिक र अव्यावहारिक रहेको भन्दै सो व्यवस्था सच्याउन माग गरेका छन् । 

बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै स्वरोजगार यातायात मजदुर संगठन आबद्ध मजदुरले उक्त व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्कामा पारेको जनाएका हुन् । २० वर्षे सवारीसाधन हटाउने नीतिका कारण गत असार मसान्तसम्म मात्रै साविकका ६ वटा अञ्चलका ८ हजार ९ वटा सवारीसाधन चल्न नपाउने अवस्थामा पुगेको संगठनका अध्यक्ष खड्गबहादुर गिरीले जानकारी दिए । 

यसमध्ये साविकको मेची अञ्चलमा दर्ता भएका २ हजार १२१, कोसीका ७२८, जनकपुरका ५१६, नारायणीका १ हजार ७२, बागमतीका १ हजार १४३ र गण्डकीका १ हजार ४२७ सवारीसाधन विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ छ । बाँकी ८ वटा अञ्चलमा समेत गरी यो संख्या १० हजारभन्दा बढी भएको बताइन्छ । 

आगामी दिनमा यी सबै साधन सञ्चालन नहुँदा करिब १० हजार मजदुरले रोजगारी गुमाउने र त्यसबाट आश्रित झण्डै ५० हजार व्यक्ति प्रभावित हुने अध्यक्ष गिरीले बताए । ती सवारीसाधन प्रतिस्थापन गर्न ६२ देखि ७३ लाख रुपैयाँसम्म पर्ने भएकोले त्यो तत्काल सम्भव समेत नरहेको उनको दाबी छ । रासस

salt training

कमेन्ट गर्नुहोस्