२९ जेठ २०८३, शुक्रबार

नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा जसपाले गर्‍यो आन्दोलको घोषणा

नागरिकता विधेयक प्रमाणीकरण नभएको विरोधमा जसपाले गर्‍यो आन्दोलको घोषणा
फाइल तस्वीर

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा), मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो । 

जसपा प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले मधेश प्रदेशका सबै जिल्ला कार्य समितिहरूलाई परिपत्र पठाउँदै आन्दोलनका कार्यक्रम अगाडि बढाउन निर्देशन दिएका छन् । परिपत्रअनुसार जसपाले असोज ८ गते जिल्लाका नागरिक समाज, वुद्धिजिवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकर्मी तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया गर्नेछ । 

त्यस्तै, असोज ११ गते जिल्ला सदरमुकाममा भ्रातृसंगठनहरूको नेतृत्वमा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुत्ला दहन गर्ने, १३ गते केन्द्रीय नेता, सांसद, प्रदेश सभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूसमेतको उपस्थितिमा विधेयक तथा अध्यादेशबारे जानकारी गराउने उल्लेख गरिएको छ । 

आन्दोलनका कार्यक्रमअन्तर्गत असोज १५, १६ र १७ गते पालिका तथा वडास्तरमा विरोध कार्यक्रम आयोजना गर्ने परिपत्रमा उल्लेख गरिएको छ । 

संघीय संसद्को दुवै सदन (प्रतिनिधि तथा राष्ट्रिय सभा)ले दोस्रोपटक पास गरी प्रमाणीकरणका पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि सत्तारुढ गठबन्धनले विरोधका कार्यक्रम थालेको छ । 


 

कमेन्ट गर्नुहोस्