२८ जेठ २०८३, बिहीबार

क्रिष्टिना गुरुङः यसरी बनेकी थिइन् ‘प्रेम गीत ३’मा अभिनेत्री

असोज ७, २०७९
क्रिष्टिना गुरुङः यसरी बनेकी थिइन् ‘प्रेम गीत ३’मा अभिनेत्री

बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेम गीत ३’ आज (शुक्रवार)देखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र नेपाल, भारतसँगै विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शनमा आएको हो ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ शीर्ष भूमिकामा छन् । प्रदीप, नेपाली चलचित्रको सर्वाधिक चर्चितमध्येका अभिनेता हुन् भने क्रिष्टिनाको ‘प्रेम गीत ३’ डेब्यू चलचित्र हो । प्रदीपबारे धेरैलाई जानकारी भए पनि क्रिष्टिनाबारे भने त्यति धेरैलाई जानकारी नहुनसक्छ । 

उनी कसरी ‘प्रेम गीत ३’ मा जोडिएन् ? त्यो जान्नका लागि आजभन्दा झण्डै साढे ३ वर्षअघि फर्किनुपर्छ । काठमाडौंमा जन्मिएकी, हुर्किएकी क्रिष्टिना पाँच वर्षयता अमेरिकामा बसेर अध्ययन गर्दै आएकी थिइन् । 

संयोग कस्तो भने, उनी एक महिना बिदामा काठमाडौं आएको बखत ‘प्रेम गीत ३’मा अभिनेत्रीको अडिसनका लागि आवेदन खुलेको थियो । 

क्रिष्टिनामा हिरोइन बन्ने रुचि बाल्यकालीन थियो । सानैदेखि उनी  नृत्यप्रति रुचि राख्थिन् । नेपाली चलचित्रहरू पनि हेर्ने गर्थिन् । केही म्युजिक भिडियोमा काम पनि गरेकी थिइन् । ‘राम्रो ब्यानरबाट डेब्यू गर्ने अवसरको खोजिमा थिएँ’, क्रिष्टिनाले भनेकी छन्, ‘फेसबुकमा ‘प्रेम गीत ३’मा हिरोइन बन्ने अवसर शीर्षकको समाचार देखेपछि ध्यान तानियो ।’ 

दर्शकले निकै रुचाएका ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ क्रिष्टिनालाई पनि निकै मन परेका चलचित्र थिए । अडिसनका लागि आवेदन खुलेको जानकारी पाएपछि सोँचिन् ‘म पनि ‘ट्राई’ गर्छु ।’ क्रिष्टिनाले अडिसनका लागि आवेदन दिइन् । 

गीत पात्रका लागि अन्य २ हजार ७१३ जनाको आवेदन परेको थियो । तिमध्ये उत्कृष्ट २५ छनोट गरियो । त्यसभित्र परिन् क्रिष्टिना । २५ जनाको भने अडिसन भयो । अडिसनबाट छनोट भइन् क्रिष्टिना । जुन उनी आफैँलाई कल्पना थिएन । 

उनले त्यसबेलाको अनुभव शेयर गरेकी छन्, ‘चलचित्र खेल्ने, हिरोइन बन्ने सानैदेखिको रहर थियो । तर, प्रेम गीत ३ मा छनोट हुन्छु भन्ने कल्पना गरेकी थिएनँ । ट्राई गरुँ न त भनेर मात्र आवेदन दिएकी थिए ।’ 

चलचित्रका छानिएपछि उनले घोडचढी (हर्ष राइडिङ)को प्रशिक्षणसमेत लिइन् । लामो समय ‘वर्कशप’मा बिताइन् । मनाङमा निकै दुख, कष्टका साथ चलचित्रको छायाँकन गरिन् । चलचित्रमा चर्चित प्रदीप खड्कासँग स्क्रिन शेयर गरेकी छन् । 

चलचित्र निर्माण सकिएर प्रदर्शनका लागि तयार भयो । २०७६ सालको चैतका लागि प्रदर्शन मिति तोकिएको थियो । तर, कोरोना महामारीका कारण उक्त समय चलचित्र प्रदर्शनमा आउन सकेन ।  पर्दामा आफूलाई हेर्न क्रिष्टिनाले निकै प्रतिक्षामा थिइन् । केही साताअघि ‘प्रेम गीत ३’का निर्माता एवं निर्देशक सन्तोष सेनले लोकान्तरसँग भनेका थिए, ‘क्रिष्टिनालाई चलचित्रहरूबाट अफर आइरहेका छन् । तर, पहिले प्रेम गीत ३ को रेस्पोन्स हेर्न भनेर अन्य चलचित्र साइन गरेकी छैनन् ।’ 

आज नेपालमा मात्र होइन्, क्रिष्टिनालाई विश्वले हेर्दैैछ । प्रतिक्षाको फल मिठो हुन्छ भनेझै यतिबेला मुम्बईमा रहेकी क्रिष्टिनाले त्यस्तै मिठो अनुभूति गरिरहेकी छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्