
स्थापना कालको छोटो समयमै, वैधानिक, सुरक्षित र डिजिटल माध्यमबाट संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै, थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।
एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्समार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानलाई सार्वजनिक गरेको हो । यो अभियान असोज ७ बाट शुरु भएर फागुन ६ गतेसम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान शुरु गरिएको हो ।
यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाई थप मजबुत बनाउनका लागि पनि ६ महिने योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरूले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जो–कोहीले पनि सहभागिता जनाउन सक्ने छन् ।
यसअभियानमा मासिक रुपमा १ जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरूको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्ने जनाइएको छ ।
अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, ‘आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देशभित्र र बाहिर रहेका सबै नेपालीको योगदान उत्तिकै महत्वपूर्ण छ । अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश विकासमा भूमिका अतुलनीय हुन जान्छ ।’
इसेवा मनी ट्रान्सफरले स्थापनाकालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल कारोबारका लागि समर्पित रहिआएको म्यानेजर खनालले बताए । ‘आज हामी यस अभियानमार्फत विदेशमा रहनुहुने समस्त दाजुभाइ तथा दिदी बहिनीहरूलाइ डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गर्दै, विश्वभर भएका नेपालीहरूलाइ देश डिजिटल बनाउने अभियानमा जोड्न हामी मेरो डिजिटल देश शुरु गर्न लागेको जानकारी गराउन चाहान्छौँ’, उनले भने ।

मेरो डिजिटल देश अभियानमा नेपाली सिनेजगतका महानायक राजेश हमालसमेत जोडिएका छन् । उनी यस अभियानसँग जोडिएर इसेवा मनी ट्रान्सफर सँगै देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रबद्र्धनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ ।
त्यस्तै, अभियानबारे इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरू सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशतभन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रित हुने छ । विश्वका विभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यति ठूलो आर्थिक योगदान पुर्याउनु हुने ति सहयोगी हातहरूमध्ये केहीलाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौँ ।’
इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाखभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।