
नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रूपमा रहेको भाट–भटेनी सुपरमार्केटमा पनि अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने सेवाको थालनी भएको छ । उक्त नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्टआईपीएसमार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेटबाट नेपाल पे चल्ने यकिन गर्न उक्त एपको क्यूआर स्क्यान स्क्रीनमा नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।
हाल उक्त सुविधा एभरेस्ट बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआईसी एशिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, एमओआरयूगरी १२ वटा मोबाइल बैंकिङ, २ वटा वालेट र कनेक्ट आईपीएस मोबाइल एपमा उपलब्ध रहेको छ । नेपाल पे क्यूआरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हालसम्म स्टाटिक क्यूआर, डायनामिक क्यूआर, क्यूआर गेटवे र क्यूआर पीओएसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरू आबद्ध भइसकेका छन् ।
नेपाल क्लियरिङ्ग हाउस लिले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डअनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याइएको हो । क्यूआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।
नेपाल सरकारको राजस्व भुक्तानी समेत क्यूआरबाट गर्न मिल्ने गरी हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमा समेत नेपाल पे क्यूआर थप गरिएको छ । जसअन्र्गत उक्त क्यूआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायतबाट सजिलै राजस्व भुक्तानीसमेत गर्न सकिने भएको छ ।