०८ साउन २०८३, शुक्रबार

मलाई नक्कली आईडीमार्फत गाली गर्ने ८ हजार १ सयजना छन् : महेश बस्नेत

मलाई नक्कली आईडीमार्फत गाली गर्ने ८ हजार १ सयजना छन् : महेश बस्नेत

नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरूमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । शुक्रवार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरूमा भ्रम छरेको बताएका हुन् । 

बस्नेतले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने धारणा राखे । उनले पछिल्लो समय युवाहरूमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादी, वाइसिएल, कांग्रेस, नेविसंघलगायतले भ्रम छरेको आरोप लगाए । 

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैलाउन पार्टीका नेता कार्यकर्तालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरू उत्पादन गर्न विभिन्न समूह लागेको बताए । उनले त्यसको लागि अन्तर्राष्ट्रिय मिसनहरूसमेत परिचालित भएको दाबी गरे ।

‘अराजक समूह अहिले भौतिक रुपमा वा साइबरमार्फत माओवादी, वाइसिएल, कांग्रेस, नेविसंघ, भीम उपाध्याय भएर, खगेन्द्र संग्रौला, बालेन शाहहरू भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छ’, उनले भने, ‘नेपालमा राजनीतिक अस्थिरता फैल्याउने र दलित, महिलाको पक्षमा, मधेश, जनजातिको पक्षमा बोल्न पार्टी विचार नेता कार्यकर्तालाई समाप्त गरिदिने र नेपालमा दलालहरू उत्पादन गर्ने महाशक्ति राष्ट्रका खेताला र गोठालाहरू उत्पादन गर्न अराजकतावादी शक्तिहरू लागेका छन् ।’

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमालेमाथि जथाभावी आक्रमण भइरहेको बताए । उनले सामाजिक सञ्जाल र साइबरमार्फत एउटा कोठामा बसेर एमालेलाई आक्रमण गरेको बताए । उनले आफूलाई नक्कली आईडीमार्फत ८ हजार १ सय जनाले गाली गर्ने मान्छे रहेको बताए । उनले नक्कली आईडी बनाएर गाली गर्नेहरूलाई राम्रो सम्बोधन गर्न नसकिने बताए । 

salt training

कमेन्ट गर्नुहोस्