०५ साउन २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ एमालेलगायत अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्नका लागि वार्ता समिति गठन गरेको छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति शुक्रवार गठन गरेको हो ।  
००००
निर्वाचन आयोगले असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोल्ने आयोगको तयारी छ । 
आयोगका प्रवक्ता शालिग्राम शर्माले शुक्रवार विज्ञप्ति प्रकाशित गरी असोज २० भित्र निर्वाचन कार्यालय खोल्ने निर्णय भएको जनाएका हुन् । आयोगले पूर्व स्वीकृतिविना निर्वाचन क्षेत्र नजान निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ ।
००००
आयोगले हाम्रो नेपाली पाटीलाई स्पष्टीकरण सोधेको छ । चुनाव चिह्न लौरोको सम्बन्धमा स्वतन्त्र उम्मेदवारलाई जोडेर भ्रामक प्रचार भएको भन्दै आयोगले हाम्रो नेपाली पार्टीलाई ४ बुँदे प्रश्नसहित तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो ।
००००
हेटौँडाको न्युरेनीस्थित कर्रा खोलाले बगाएर शुक्रबार तीन जना बालकको  मृत्यु भएको छ । अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीनजना बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
००००
१२ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै आवासीय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले असोज ८ गतेदेखि कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्ने र द्वीप प्रज्वलन कार्यक्रम तय गरेका छन् । यसैबीच डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । 
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु ‘बुढो’ भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एसको आयु तीतेपातीको झारसँग तुलना गर्दै आगामी मंसिर ४ गतेसम्म नटिक्ने दावी गरे । राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु आगामी मंसिर ४ गतेसम्मका लागि राख्ने वा नराख्ने भन्ने कुरा आफ्नो पार्टीले लेखिदिनुपर्ने भन्दै व्यंग्य समेत गरे ।
००००
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसद्बाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानविपरीत काम गरेको बताएकी हुन् ।
००००
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको र माओवादीमा प्रवेश गर्ने हल्ला झुट्टा भएको बताएका छन् । सचिव रायमाझीको सचिवालयले एक प्रेस नोट जारी गर्दै रायमाझी माओवादी केन्द्रमा प्रवेश गर्न लागेको भनेर केही मान्छेहरूले गलत हल्ला फैलाएको भन्दै त्यस्ता गलत हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गरेको छ ।
००००
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालयलाई विपक्षी बनाई दर्ता गरिएको सबै रिटको सुनुवाइ स्थगित गरिएको छ । सर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दर्ता भएको रिटको सुनुवाइ शुक्रवार स्थगित गरिएको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको धनगढी उपमहानगरपालिका ९, स्थित शिव निमावि देवरियामा कार्यरत एक शिक्षिकामाथि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । 
अख्तियारले शुक्रवार शिक्षिका गीता सोडारीविरुद्ध नक्कली प्रमाणपत्र पेश गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । उनी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री दीर्घ सोडारीका पत्नी हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षकबाट जानी–बुझी संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका छन् । परिवर्तनका पक्षधरहरू सडकमा नजाने हो भने प्रतिगमनका फँणाले डस्न सक्ने उनले बताए । 
अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले संरक्षकबाटै खुलेआम संविधान मिच्ने काम भएकोले प्रतिगमनको खतरा बढेको बताएका हुन् ।
००००
वाणिज्य बैंकहरूले क्षमताभन्दा बढी लगानी गरिरहेको भए पनि घरजग्गा कारोबार भने ४६ प्रतिशतले घटेको छ । वाणिज्य बैंकहरूको निक्षेप संकलन गत साउनमा असारको तुलनामा १ खर्ब ८ अर्ब ७ करोड रुपैयाँले घटेका कारण कर्जा प्रवाह गर्न मुस्किल छ । तथ्यांकअनुसार गत साउनमा बैंकहरूको कर्जा लगानी जम्मा १ अर्ब ६८ करोड रुपैयाँ मात्रै छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले पछिल्लो एक महिनामा घरजग्गामा १६ अर्ब रुपैयाँ लगानी गरेका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूबाट साउनमा समग्र घरजग्गामा १२ अर्ब ६२ करोड र डेढ करोडसम्मको आवासीय कर्जामा ४ अर्ब १७ करोड रुपैयाँ लगानी भएको छ ।
००००
निर्वाचन आयोगले संसदबाट पारित बजेटभन्दा पृथक कार्यक्रमलाई अनुमति नदिन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।
चुनावको मिति घोषणा भइसकेको अवस्थामा नयाँ कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको स्वच्छतामा असर पर्ने आयोगले बताएको छ ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी, मधेश प्रदेश समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । जसपाले राष्ट्रपतिको कदमको विरोधमा पहिलो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्