३० असार २०८३, मंगलबार
नेपाली चलचित्र

‘प्रेम गीत ३’का ‘अमन’ र ‘क्रान्तिवीर’को फिल्मी यात्रा [भिडियोसहित]

‘यतिबेला छेतन सरलाई धेरै सम्झिरहेका छौँ’
असोज ८, २०७९
‘प्रेम गीत ३’का ‘अमन’ र ‘क्रान्तिवीर’को फिल्मी यात्रा [भिडियोसहित]

बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ हिजो (शुक्रवार)देखि ‘वर्ल्डवाइड’ रिलिज भएको छ । कोरोना महामारीअघि निर्माण भएको फिल्मले अन्ततः तीन वर्षपछि नेपालमा मात्र नभएर भारतसँगै थुप्रै देशहरूमा एकसाथ रिलिजको अवसर पाएको छ । ‘इतिहासको काल्पनिक कथा’ भनिएको फिल्मलाई सबैतिरबाट सकारात्मक प्रतिक्रियाहरू आइरहेका छन् । प्रतिक्रियाबाट उत्साहित देखिएको छ, ‘प्रेम गीत ३’ निर्माण टिम । र, उत्तिकै उत्साहित छन् अभिनेताद्वय मनिष राउत र प्रेम पुरी । 

मनिष र प्रेम ‘प्रेम गीत ३’ का मुख्य पात्रहरूमध्येका हुन् । मनिष र प्रेमका अनुसार सात गाउँको राजाको कथा हो, प्रेम गीत ३ । फिल्म प्रदर्शनको दिन लोकान्तरकोस्टुडियोमा भलाकुसारीका क्रममा उनीहरू दुवै निकै खुशी देखिए । उनीहरूले ‘प्रेम गीत ३’बारे केही कुराहरू शेयर गरे । आ–आफ्नो फिल्मी यात्राबारे पनि केही कुरा सुनाए । 

‘फिल्ममा म राजकुमारको भूमिकामा छु । राजकुमारको नाम अमन हो’, मनिषले ‘प्रेम गीत ३’मा आफ्नो भूमिकाबारे बताए । फिल्ममा राजकुमारको भूमिका निर्वाह गर्नका लागि उनले धेरै कुराहरू सिकेका थिए । बञ्चरो चलाउनेदेखि घोडचढी (हर्स राइडिङ)लगायतका कुराहरू सिकेको र आफ्नो तर्फबाट शतप्रतिशत दिने प्रयास गरेको मनिषले बताए । 

मनिषको डेब्यू फिल्म हो, ‘प्रेम गीत ३’ । कोरोनाका कारण ‘प्रेम गीत ३’को प्रदर्शनमा ढिलाइ भए पनि आफू वर्षौंदेखि आजको दिनको पर्खाइमा रहेको उनले बताए । उनले अगाडि भने, ‘एउटा कलाकार, निर्देशक अनि फिल्म क्षेत्रमा लागेको ब्यक्तिलाई शुक्रवार धेरै विशेष हुँदोरहेछ । यो शुक्रवार मैले २/३ वर्ष नभई, १० वर्षदेखि कुरेको छु । यस फिल्ममा काम गर्नुअघि थुप्रै निर्माताको ढोका ढक्ढकाएको छु ।’ 

जीन्दगीमा धेरै कुरा भन्नु छ भन्ने लाग्छ मनिषलाई । केही कुराहरू सम्बन्धको बारेमा होलान्, केही भावनाको बारेमा वा केही कुराहरू समाजका बारेमा होलान् । मनिष फिल्मप्रतिको आकर्षणबारे सुनाउँछन्, ‘म पहिले कविताहरू लेख्थे, तर कविताले पुगेन मलाई । त्यसपछि दृश्यभाषामा आउन मन लाग्यो । ओस्कार फिल्म कलेजमा भर्ना भएँ ।’ ओस्कार कलेजमा भर्ना भएपछि उनलाई लाग्यो, फिल्म संसारको सबैभन्दा आधुनिक कला (मोर्डन आर्ट) हो । 

‘प्रेम गीत ३’मा अभिनय गरेपछि मनिषलाई अन्य फिल्महरूबाट पनि अफर आएका छन् । तर, फिल्मको रेस्पोन्सका लागि कुरिरहेको बताउँदै अब अन्य फिल्ममा पनि काम गर्ने उनले बताए । 

अभिनेता प्रेमलाई पनि फिल्मप्रति कहिलेदेखि झुकाव भयो, ठ्याक्कै यकिन छैन । तर, उनी आफू जान्ने भएदेखि नै फिल्मप्रति आकर्षित रहेको बताउँछन् । उनले यसअघि दुईवटा फिल्ममा काम गरिसकेका छन् । 

अभिनय, नृत्य, द्वन्द्वलगायतका कुराहरू सिकेर फिल्ममा आएको प्रेम बताउँछन् । ‘सम्झिराख है’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका प्रेम ‘चंखे, शंखे, पंखे’ हुँदै ‘प्रेम गीत ३’सम्म आइपुगेका हुन् । 

‘प्रेम गीत ३’मा आफ्नो भूमिकाबारे प्रेम सुनाउँछन्, ‘फिल्ममा मैले एउटा राज्यको सेनापतिको भूमिका निर्वाह गरेको छु । मेरो पात्रको नाम क्रान्तिवीर छ ।’ आउँदा दिनमा फिल्म क्षेत्रमै सक्रिय रहने बताउँछन् प्रेम । 

यता, अभिनेता मनिष पनि आउँदा दिनमा अझ राम्रो काम गर्दै फिल्म क्षेत्रमै सक्रिय हुने बताउँछन् । ‘आगामी फिल्ममा अझ राम्रो, परिमार्जित भएर आउनेछु’, मनिष भन्छन् । 

छेतन गुरुङको परिकल्पना रहेको ‘प्रेम गीत ३’लाई छेतन र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् । यद्यपि, ‘प्रेम गीत ३’ वर्ल्डवाइड प्रदर्शनमा आउँदा निर्देशक छेतन यो संसारमा छैनन् । दुवै अभिनेताले यतिबेला निर्देशक स्वर्गीय छेतन गुरुङलाई धेरै सम्झिरहेको बताउँदै ‘प्रेम गीत ३’ उनीप्रति समर्पित गर्न चाहाने बताउँछन् । 

अभिनेता मनिषले दिवंगत छेतनलाई सम्झिँदै भने, ‘सर, तपाईं जहाँ, जसरी हुनुहुन्छ, तपाईंको कृतिले धेरै दर्शकलाई खुशी बनाएको छ । हजुरले दुःख फिल होस् भनेको ठाउँमा दर्शकहरू रोइदिनुभएको छ । हजुरले हँसाउन खोजेको ठाउँमा सबैजना हाँसिरहनुभएको छ ।’ 

फिल्ममा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । उनीहरूका साथमा मनिष राउत, प्रेम पुरीसँगै दर्जन बढी कलाकारहरूले अभिनय गरेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्