
दशैं नजिकिँदै गर्दा महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहो गर्दैछन् । दशैं पूर्व विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् । महोत्तरीका सबैजसो बस्तीमा अहिले माटो संग्रह गर्नु महिलाको मुख्य रोजगारी बनेको छ ।
अहिले बस्तीबस्तीका महिला १०/२० जनासम्मको समूहमा माटो खोज्न चार÷पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का पुग्ने गरेका छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेंलो र रातो माटोको माग हुने भएपछि गरिब बस्तीका ग्रामीण महिला अहिले विभिन्न रङका माटो संग्रहमा लागेका हुन् ।
मधेशका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् ।
अहिले फरकफरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ’, सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास–३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका–६ हतिसर्वाका महिला समूहकी पानवती चौधरीले भनिन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दशैं खर्चको नगद जोहो गर्न माटो लगिन्छ ।’ रातो माटो एक बोरा (४० किलो) घर पुर्याउनसके आफ्नो घर पोतेर एक÷दुई हजार नगद पनि थैलीमा राख्न पाइने यी महिलाको सपना छ ।
सोह्र श्राद्ध (पितृपक्ष) सकिनासाथ दशैं शुरु भइहाल्ने हुँदा अहिले घरका परिवारजनकोसमेत सहयोग लिएर गरिब बस्तीका महिला माटो ठम्याउने, खन्ने र ओसार्ने काममा व्यस्त छन् । ‘हेर्नोस् न, दशैं आई त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई÷चार पैसाको मुख देख्न पाइने हो नि !’, आफ्नै बस्ती नजिकको रातु नदीको डिलमा कमेरे माटो खोस्रिँदै गर्दा भेटिएकी भंगाहा–४ रामनगरकी रसिया चौधरीले भनिन्, ‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ ।’
मधेशका खासगरी थारु बस्तीमा अहिले माटो संग्रहको होड छ । थारु महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् ।
दशैंको मुखमा थारु महिलाको साथीसंगतले अन्य जाति समुदायका गरिब महिला पनि अहिले माटो संग्रहमा लागेका छन् । दशैंको मुखमा माटो जम्मा गर्नसके दशैं मेलामा रमाउन र घरमा बालबच्चाको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने भंगाहा–४ कै पलार बस्तीकी सियनकीदेवी सर्दार बताउछिन् ।
मधेशका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दशैं अघि घर पोत्ने अनिवार्य चलनले गरिब बस्तीका महिला दुई/चार रुपैयाँ आर्जन गर्न अहिले माटो सङ्ग्रहमा लागेका छन् । माटो आपूmहरुका लागि दशैं खर्चको नगद जोहोको अवसर बनेको यस काममा लागेका महिला बताउँछन् । रासस